अभियान चलाउन नसकेकामा डा. उप्रेती जिम्मेवारीबाट बर्खास्त

काठमाडौं, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समयमै दादुरा रुबेला खोप खरिद गरी बालबालिकालाई लगाउन नसकेको भन्दै बाल स्वास्थ्य महाशाखा प्रमुख डा. श्यामराज उप्रेतीलाई जिम्मेवारीबाट हटाएको छ ।
गत आर्थिक वर्षमै दादुरा रुबेला खोप खरिद गरी ८० लाख बालबालिकालाई लगाउनुपर्नेमा डा. उप्रेतीले कमिसन मागेपछि खोप उपलब्ध गराउने कम्पनीले खोप दिन नसक्ने जनाएको थियो । कम्पनीले समयमै खोप उपलब्ध नगराएपछि ८० लाख बालबालिका समयमै खोप लगाउनबाट वञ्चित भएको भन्दै मन्त्रीस्तरीय निर्णयले डा. उप्रेतीलाई महाशाखाबाट हटाइएको मन्त्रालय स्रोतले जनाएको छ । उनलाई मन्त्रालयमा तानिएको छ । मन्त्रालयमा उनलाई अहिले कुनै पनि जिम्मेवारी दिइएको छैन ।
मन्त्रालयले ९ देखि १५ वर्ष उमेर समूहका देशभरका एक करोड बालबालिकालाई दादुरा र रुबेला रोगविरुद्धको खोप दिने उद्देश्यले गत आवलाई सघन खोप वर्षका रूपमा मनाउने भनेको थियो । एक अर्ब बजेट छुट्टयाइएकामा सघन खोप कार्यक्रमका लागि आवश्यक दादुरा रुबेला खोप खरिदका क्रममा डा. उप्रेतीसहित आपूर्ति व्यवस्था महाशाखा प्रमुख डा. नरेशप्रताप केसीले कम्पनिसँग छुट्टाछुट्टै कमिसन माग गरेपछि गत वर्ष खोप खरिद हुन सकेको थिएन । मन्त्रालय स्रोतका अनुसार डा. केसीलाई समेत मन्त्रालयले जिम्मेवारीबाट हटाउने तयारी गरिरहेको छ । गत जेठमा सौर्यले विभागीय प्रमुखको आर्थिक कमिसनको लोभका कारण ८० लाख बालबालिकाले दादुरा रुबेला खोप नपाउने समाचार प्रकाशन गरेको थियो ।
दादुरा नियन्त्रणका लागि सन् २००८ को सुरुमा बालबालिकालाई अभियान नै चलाएर दादुराको खोप दिइएको थियो । रुबेलाका लागि भने पहिलोपटक खोप दिन लागिएको थियो । विज्ञहरूका अनुसार दादुराको खोप पाँच वर्षपछि पुन: अभियानकै रूपमा चलाएर दिनुपर्ने हुन्छ । सोहीअनुसार सरकारले गत वर्ष देशभरका बालबालिकालाई खोप दिन अहिलेसम्मकै सबैभन्दा ठूलो अभियान सञ्चालनको घोषणा गरेको थियो । तर, डा. उप्रेती र डा. केसीका कारण खोप आउन नसकेपछि मन्त्रालयले दुवैजनालाई कारबाही गर्ने निर्णय गरेको थियो । स्रोतका अनुसार यसअघि नै दुवै प्रमुखलाई जिम्मेवारीबाट हटाउने निर्णय भए पनि निर्वाचन आचारसंहिताले हटाउन ढिला भएको हो । इलाम जिल्ला जनस्वास्थ्य प्रमुखको जिम्मेवारी सम्हाली हालै बढुवा भएका डा. तारानाथ पोखरेललाई बालस्वास्थ्य महाशाखाको जिम्मेवारी दिइएको छ ।
डा. उप्रेतीले भने आफूलाई नियमित सरुवा कार्यक्रमअन्तर्गत मन्त्रालयमा तानिएको बताए । उनलाई ०६६ सालमा पनि जापानिज इन्सेफलाइटिस भ्याक्सिन लगाउने कार्यक्रममा कार्यक्रम नै नभएका जिल्लामा म्याद गुज्रिन लागेको खोप लगाएको भन्दै मन्त्रालयले विभागीय प्रमुखबाट हटाएर हेटौंडामा पठाएको थियो । कार्यक्रम नपरेका जिल्लामा जापानिज इन्सेफलाइटिसको खोप कार्यक्रम सञ्चालन गरेको विषयमा अख्तियारले फाइल अध्ययन गरिरहेको छ ।

प्रतिक्रिया