बालविकासको विवाद टुंगियो

काठमाडौ : बूढानीलकण्ठस्थित बालविकास स्कुलमा शिक्षक निष्काशनपछि उत्पन्न विवाद टुंगिएको छ । जिल्ला शिक्षा कार्यालयका अधिकारी, प्याब्सन र शिक्षक संगठनका प्रतिनिधि सम्मिलित बैठकमा बुधबारदेखि विद्यालय सञ्चालनमा बाधा नहुनेलगायत बुँदामा सहमति भएको छ ।
प्याब्सनका केन्द्रीय महासचिव डिके ढुंगानाका अनुसार मंगलबार बसेको बैठकमा विद्यालय व्यवस्थान र शिक्षकबीच सहमति भई त्यसको कार्यान्वयनका लागि पाँच सदस्यीय समितिसमेत गठन गरिएको छ । निष्काशनमा परेका शिक्षकलाई मिल्नेजति पुनर्बहाली गर्ने र पुनर्बहालीमा नपरेकाका हकमा समितिको अध्ययनपछि के गर्ने भन्ने निर्णय लिने सहमति भएको छ ।
विगत दुई महिनादेखि शिक्षकलाई धमाधम निष्काशन गर्दै आएको विषयमा ध्यानाकर्षण गराउँदा पनि जिशिका र प्याब्सनबाट सुनुवाइ नभएको भन्दै अखिल नेपाल शिक्षक संगठन र इस्टुको इकाईमा आबद्ध शिक्षकले संयुक्त रूपमा संघर्षका कार्यक्रम गर्दै आएका थिए । काठमाडौं प्याब्सनका अध्यक्षसमेत रहेका गोपाल आचार्यको माउन्ट ग्लोरियस स्कुलको गाडीमा सोमबार तोडफोडसमेत भएको थियो । गाडी तोडफोडका विषयमा संगठनका प्रतिनिधिले क्षमा मागेको महासचिव ढुंगानाले बताए । (सौस)

प्रतिक्रिया