फोन सेवा माग्दै तालाबन्दी

काभ्रे, २३ साउन । पाँच महिनादेखि टेलिफोन प्रयोग गर्न नपाएपछि आन्दोलित नेपाल टेलिकम बनेपा शाखाअन्र्तगत कुशादेवी क्षेत्रका ग्राहकले टेलिकमको कार्यालयमा तालाबन्दी गरेका छन् ।

टेलिफोनको तार पटकपटक चोरी भएपछि टेलिकमले सो क्षेत्रमा ०६८ चैतदेखि टेलिफोन लाइन सञ्चालन गर्नसकेको छैन । कुशादेवी क्षेत्रका मात्रै एक सय ३५ टेलिफोन लाइन अबरुद्ध भएका छन् भने खोपासी, सुन्धान, पस्थली, शंखु क्षेत्रका करिब पाँच सय टेलिफोन लाइन विगत पाँच महिनादेखि अबरुद्ध छ । स्थानीय, प्रहरी र टेलिकमका कर्मचारीको गस्तीबाट समेत नियन्त्रण गर्न नसकेपछि टेलिकमका ग्राहकले वैकिल्पक व्यवस्थाको माग गर्दै टेलिकममा ताला लगाएका हुन् ।
ग्राहकले टेलिकम कार्यालयलाई ११ साउनमा १० दिनको अल्टिमेटम दिएका थिए । टेलिकमको तारसहितको टेलिफोन अबरुद्ध हुँदा सो क्षेत्रका ग्राहकले इमेल/इन्टरनेट प्रयोग गर्न पाएका छैनन् । टेलिकम शाखाले तारबाट टेलिफोन पुगेका सबै क्षेत्रमा एडिएसल माध्यमबाट इन्टरनेटको सुविधा उपलब्ध गराउँदै आएको छ । लामो समयसम्म टेलिकमले बेवास्ता गरेको भन्दै ग्राहकले वैकल्पिक व्यवस्थासहित तत्काल टेलिफोन जडानको माग राखेका छन् ।
‘सो क्षेत्रमा जमिनभित्रबाट तार लग्ने वा एमसन टेक्नोलोजी प्रयोग गर्ने भन्ने दुईवटा विकल्प मात्रै बाँकी छ,’ टेलिकम बनेपा शाखाका प्रमुख शिवजी शाहले भने । ग्राहकको समस्या शाखाबाट मात्रै समाधान गर्न नसकिने शाहले बताए । ‘जबसम्म ग्राहक, बनेपा शाखा, क्षेत्रीय निर्देशनालय काठमाडौं, स्थानीय टेलिफोन निर्देशनालय ग्वार्काे, एक्सेस नेटवर्क प्लानिङ विभाग छाउनीबीच एकै ठाउँमा बसेर छलफल गर्न सकिँदैन तबसम्म समाधान हुन सक्दैन,’ उनले भने ।
ग्राहकको नेतृत्व गरेका उपभोक्ता टंकप्रसाद हुमागार्इंले टेलिकमको क्षेत्रीय निर्देशनालयले पटकपटक ग्राहकलाई झुक्याइरहेकाले तत्काल टेलिफोन जडानको पहल नलिए क्षेत्रीय निर्देशनालयमै गएर ताला लगाइदिने चेतावनीसमेत दिए । टेलिकम बनेपा शाखा कार्यालयमा प्रमुख शाहसँगको वार्तापछि हुमागाईंले क्षेत्रीय कार्यालयले तत्काल जिम्मेवारी लिई लाइन जोड्न पहल गर्न आग्रह गर्ने आश्वसन दिएका छन् ।

प्रतिक्रिया