म वेद पढेकी माक्र्सवादी

नेपाल संस्कृत विश्वविद्यालयबाट आचार्य गर्ने पहिलो महिला हुन् सुषमा शर्मा । संस्कृतमा मात्र होइन, उनी स्ववियु सभापति हुने पहिलो महिला पनि हुन् । एमालेको जिल्ला सचिव हुने पहिलो महिला पनि आफू नै रहेको दाबी गर्छिन् उनी । उनको शिक्षा घरैबाट सुरु भयो, शिक्षक रहे उनकै पिता । दाङको सम्पन्न परिवारमा हुर्केकी उनले विद्यालय नै नटेकी आचार्य गरिन् । पिताले वैज्ञानिक शिक्षाको बदलामा संस्कृत पढाएर आफूमाथि अन्याय गरेको मान्छिन् उनी । संस्कृतकी विद्यार्थी उनी हाल माक्र्सवादी नेत्री हुन् । एनेकपा (माओवादी) मा छिन् । वेदमा महिलालाई धेरै सम्मान गरिएको तर सामन्तवादी सोचले मात्र महिलालाई हेपेको उनलाई लाग्छ । पूर्वसंस्कृति राज्यमन्त्री नेत्री सुषमा शर्मासाग यसै सेरोफेरोमा सौर्यकी चमिना भट्टराईको कुराकानी :

जीवनमा कहिल्यै स्कुल टेकिनँ । बुबा संस्कृतका प्रकाण्ड विद्वान्, घरको वातावरणै संस्कृतमय थियो । मैले संस्कृतको श्लोकबाट पढाइ सुरु गरँे । स्कुल, चक, ब्ल्याकबोर्ड शिक्षणविधि कस्तो हुन्छ, अनुभव नै भएन । सबै अध्ययन घरमै भयो । जन्मेको गाउँ बिजौरी संस्कृत भाषाले हस्तक्षेप गरेको ठाउँ थियो । ममा त्यसको प्रभाव पनि रह्यो । जुन परिवेशमा आचार्य गरेँ त्यो मेरो लागि अवसर हो भन्ने लाग्छ ।
एकजना दाजुबाहेक घरमा सबैले सस्ंकृतै पढे । दाजुले सेन्ट जेभियर्समा पढ्नुभयो । बुबालाई एउटा छोरालाई चाहिँ अंग्रेजी पढाउन मन लागेछ । त्यतिबेला दाङबाट आएर सेन्ट जेभियर्समा पढ्नु सामान्य थिएन । मेरा दुई दिदीले शास्त्री अध्ययन पूरा गर्नुभो । जेठी दिदी त आजभन्दा पचहत्तर वर्षअगाडि जन्मिनुभएकी । त्यो जमानामा महिलाले शास्त्री पूरा गर्नु पनि सामान्य होइन । उतिबेला मेरा बुबालाई ‘छोरी पढाउने बाबु’ भन्थे । कको अक्षरै नचिनेकी मेरी आमा मजाले गीता पाठ गर्नुहुन्थ्यो ।
बुबाले सधैँ ‘छोरी सत्कर्ममा लाग्नू’ भन्नुहुन्थ्यो । सज्जनसँग मान्छे आफैँ निहुरिन्छ, यो मेरो शिक्षा हो, प्रेरणा हो भनेर बिस्तरामा बसेर घोकाउनुहुन्थ्यो । त्यतिबेला म करिब चार वर्षकी थिएँ ।
नीलो स्कुल ड्रेस लगाएर हातमा कापी कलम च्यापेर हिँडेका दौतरी देख्दा मलाई पनि स्कुलमा गएर अध्ययन गर्ने रहर हुन्थ्यो । बुबालाई प्रस्ताव पनि राखेँ । तर, उहाँले भन्नु भयो ‘नआत्तिनुस्, म मेरी छोरीलाई अरूको भन्दा छुट्टै उत्कृष्ट जीवन दिन्छु, यसले तपाँर्इंको जीवनलाई नयाँ आयाम दिनसक्छ ।’ बुबा मलाई सधैँ तपाँईं भनेर सम्बोधन गर्नुहुन्थ्यो । समयसापेक्ष जान खोज्नु राम्रो हो तर यसले पनि तपाईंको भविष्यलाई राम्रो बनाउँछ भन्नुहुन्थ्यो ।
स्कुल जान पाएको भए पो समयसापेक्ष शिक्षा पाउँथेँ, तपाईंले यसबाट बञ्चित गनुभो भनेर प्रतिवाद पनि गर्थें, अलि बुझ्ने भएपछि । बुबा हाँसेर भन्नुहुन्थ्यो, ‘म तपाँईंलाई अन्याय हुनदिने छैन ।’ बुबाले बारम्बार मेरो परीक्षण गर्नुभयो भन्ने लाग्छ । मेरो पढाइले विवाहमा पनि समस्या आयो । त्यो संस्कृत पढेको केटी रे भन्थे, अलि असहज रूपमा लिन्थे ।
विवाह गर्दा मैले पूर्वमध्यमाको एक खण्ड सकेकी थिएँ, जुन स्कुलको टेस्ट बराबर हो । पार्टीकै प्रस्तावमा बिहे भयो । उहाँ पनि अखिलको नेता हुनुहुन्थ्यो । बिहे हुनेबित्तिकै उहाँ जेल पर्नुभयो । श्रीमान् जेलमा, त्यस्तो अवस्थामा महिलालाई हेर्ने सामाजिक धारणा गलत हुन्थ्यो । म माइतमा चियासम्म नपकाएकी मान्छे, उतिबेलाकी बुहारी । धेरै चुनौती थिए । तर, पनि पढाइलाई निरन्तरता दिनुपर्छ भन्ने सोचेर अगाडि बढेँ ।
पढ्ने विचार त गरँे तर बत्ती बालेर पढ्दा घरमा मट्टीतेल सित्तैमा त आउँदैन नि भन्नेजस्ता कुरा निक्ले । अनि, झ्याल, ढोकाका सबै प्वालमा कपडा कोचेर बाहिर बत्तीको उज्यालो नजाने गरी बन्द गरेर पढँे । सधैँ प्राइभेट जाँच दिएँ तर सधैँ प्रथम श्रेणीमा पास भएँ । मेरो सफलतामा श्रीमान्को ठूलो योगदान छ ।
बिहेको विधि सम्झँदा पनि मैले त्यतिबेला अलि सशक्त रूपमा प्रतिवाद गर्न सकिनँ कि भन्ने लाग्छ । बुबाआमाले कान्छी छोरी हो, अरू केही नगरे पनि कन्यादान गर्छौं भन्नुभयो । अन्य विधि नगरे पनि कन्यादान गर्नुभयो । म वेद पढेकी मान्छे, वेदमा त मान्छे दान हुन्छ भनेको छैन । त्यतिबेला मेरो मानसिकता माक्र्सवादले छिप्पिइसकेको थिएनँ । र, मैले जे सिकेँ त्यही गरेँ ।
कान्छी छोरीलाई आफैसँग राखेर पढाउँदा कत्तिको सफल भइन्छ हेराँै भन्ने मेरा बुबाको आफ्नैखालको आदर्शसोच थियो । मलाई लाग्छ, उहाँले मेरो जीवनबाट आफ्नो सफलता खोज्नुभयो । विकसित राष्ट्रले अविकसित राष्ट्रमा उत्पादनको सामान परीक्षण गरेजस्तै पो भएँ कि भन्ने पनि लाग्छ ।
यो पनि लाग्छ, संस्कृत नपढेकी भए आजको माक्र्सवाद, समाज विज्ञान र यसका प्रक्रिया, यसका ठिक–बेठिक आधार के–के हुन् भनेर छुटयाउन अलि थोरै समय लाग्थ्यो कि †
मैले बुझेको र पढेका दर्शन दुइटा छन्, अध्यात्मवादी र भौतिकवादी । अध्यात्मवादी दर्शनको मार्गदर्शक सिद्धान्त गीताले दिएको छ । भौतिकवादी दर्शनको मार्गदर्शक सिद्धान्त माक्र्सवादले दिएको छ ।
माहाभारतको युद्धमा अर्जुनले भनेका थिए, ‘मलाई राजपाठ चाहिँदैन, आफ्नासँग लड्दिनँ ।’ त्यतिबेला कृष्णले भने, ‘यो अधिकारको लडाईं हो, धर्मयुद्ध हो त्यसको लागि तिमी गाण्डीव बोक्न तयार होऊ ।’ अनि मात्र अर्जुनले कि त हस्तिनापुरको राज, कि त चपरीमुनिको बास भने । युद्धमा गए । त्यो पढेपछि मलाई लाग्यो कृष्णले किन हतियार बोक्न भने होलान् ? यो उमेरसम्म आइपुग्दा पढेका दुवै दर्शनको स्मरण गर्छु । समय र समानताको अधिकार प्राप्तिका लागि हतियार बोक्नु पनि ठिक रहेछ ।
आज पनि छोरीमान्छेले वेद पढ्नु हँुदैन भन्ने गलत मान्यता छ । तर, मैले वेद पढेँ । वेद एउटा ठूलो चेतना रहेछ, जसलाई हामीले बुझ्नै सकेका छैनौँ । पढ्न धैरै समय लाग्छ । वेदको शाब्दिक अर्थ ‘जान्नु’ हो । समाजलाई जान्नु, परिवेश जान्नु, संस्कार जान्नु, सबै स्थितिबाट टाढा न हौँ है, सबैलाई जान्नु–बुझ्नु पर्छ भनिएको छ । तर, त्यत्रो ज्ञानले समृद्ध वेदबाट महिलाई वञ्चित गरिएको छ । जसले वेद पढ्नु हुँदैन भन्यो उसलाई थाहा छ कि छैन सरस्वती को हुन् भनेर ? सरस्वती, गैतमी, लोपामुद्रा, गायत्रीआदि महिला नै होइनन् ? सबै कुरा जान्न पाउने नैसर्गिक अधिकारबाट महिलालाई वन्चित गर्‍यो सामाजिक चरित्रले, त्यही चरित्रले निर्माण गरेको राष्ट्रले ।
अध्यात्मवादलाई मात्र हामीले एउटा दृष्टान्त मान्ने हो भने त यी कुरालाई आत्मसात गर्नु पर्‍यो नि । यो सबै माक्र्सवादको अध्येताको हिसाबले भनेकी मात्र होइना । बरु वेदमा भएका सकारात्मक कुरालाई बंग्याउनु वा गलत प्रचार गर्नु हुँदैन भन्ने मेरो धारणा हो । पूर्वीय दर्शनै हेर्ने हो भने हिजोका युद्धमा पनि महिलाका बहादुरी पढिएकै हो ।
हाम्रो समाज आज पनि वेदको धरातलमा टेकेर त्यसैलाई आधार मानेर वैवाहिक जीवनलाई अगाडि बढाउँछ । ऋग्वेदका ऋचाले पतिपत्नी सहयोद्धा र सहधर्मी हुन् भन्दछन् । ऋग्वेदलाई साक्षी राखेर विवाह मण्डपमा बस्छाँै तर त्यही ऋग्वेदलाई कसरी खिल्ली उडाइएको छ भने दुलहीले श्रीमान्को खुट्टा ढोग्नुपर्ने, खुट्टाको पानी खानुपर्ने, जुठो खानुपर्ने परम्परा बसालिएको छ । यो त सिधै वेदको बर्खिलाप गएको हो । ऋग्वेदले प्रस्टसँग श्रीमान् र श्रीमती एक रथका दुई पांग्रा हुन् भनेको छ । महिलालाई हेप्नका लागि धर्मको धैरै अपव्याख्या भएको छ ।
वेदले एउटा कुरा भनेको छ तर पुराण, शास्त्र, किंवदन्तीले महिलालाई कतै स्वतन्त्रता छैन भन्छन् । महिलाहरू रजस्वला हुन्छन्, त्यसैले किताब छुन हँुदैन भनियो । यस्ता चलन व्यवहार सबै सामन्तवादका अवशेष हुन् । इतिहासलाई हेर्ने हो भने अक्टोबर क्रान्तिका नायक पनि महिला थिए, पहिलो विमानचालक पनि महिला नै थिइन् । वास्तवमा धर्मले महिलालाई धैरै सम्मान गरेको छ ।
अहिले त म एउटा राजस्नीतिक कार्यकर्ता हुँ । तर, आफूले पढेको दर्शन र त्यसमा रहेको सकारात्मक कुरालाई सबै ठाउँमा राख्ने गरेकी छु । वेदलाई साम्यवादी दर्शन भनेर व्याख्या नगरे तापनि त्यसमा भएको समानतालाई सकारात्मक रूपमा लिनुपर्छ । अझ के हो भने हजारौँ वर्ष पहिले साम्यवादबारे वेदमा व्याख्या गरिएको छ । तर, माक्र्सवादले भनेजस्तो वैज्ञानिक साम्यवाद होइन, माक्र्सवादले प्रतिपादन गरेको साम्यवाद प्रस्ट रूपमा विज्ञानमा आधारित छ । आज माक्र्सवादले भनेका र उतिबेलाको कतिपय कुरा नजिकनजिक छन् । त्यो वैदिक साम्यवाद हो । वेदले सबैलाई समान व्यवहार गर भनेको छ । त्यस मानेमा त्यो एक प्रकारको साम्यवाद हो । तर, आजको साम्यवाद माक्र्सवादले मात्र पूरा गर्न सक्छ ।
मैले संस्कृतको धर्मशास्त्रमा आचार्य गरेँ  । त्यो धर्मशास्त्रको कानुन हो । धर्मशास्त्र पढ्नु भनेको मन्दिरमा बसेर शंखघन्टा हल्लाउनु, पुरेत्याइँ गर्नु मात्र होइन । त्यो एउटा कानुन हो ।
आज सम्झँदा मलाई लाग्छ, बुबाले हामीलाई पढाउने जुन आटँ गर्नुभयो, त्यस परिवेशमा ठूलो कुरा थियो । यस हिसाबले उहाँमा उतिबेला प्रगतिशील चिन्तन थियो भन्ने लाग्छ मलाई । तर समयसँगै ममा जब राजनीतिक चेतना हुर्कियो, जब म अनेरास्ववियुको सम्पर्कमा पुगेँ, शिक्षाको गुणस्तर र आवश्यकता बुझेँ अनि मलाई लाग्यो मैले पढेको शिक्षा त वैज्ञानिक रहेनछ, भाषा–शिक्षा भनेको त अन्तर्राष्ट्रिय पो त रहेछ ।
कहिलेकाहीँ लाग्छ, दाजुलाई सेन्ट जेबियर्समा पढाउनसक्ने बुबाले मलाई पनि त्यहीँ वा अन्य समयसापेक्ष शिक्षा पनि पढाइदिएको भए कति राम्रो हुन्थ्यो । त्यति ल्याकत त उहाँमा थियो । छोरा र छोरीबीच गरिने विभेद र पुरुषप्रधान समाजको हस्तक्षेपकारी मानसिकताबाट मेरो बुबा पनि अछुतो रहन सक्नुभएन । छोरीमान्छेलाई घरबाट बाहिर पठाउनु हुँदैन, सानैमा बिहे गरेर पठाउनु पर्छ भन्ने मानसिकता थियो । मलाई के महसुस हुन्छ भने अंग्रेजी पढ्न पाएकी भए यो समाज अनि राष्ट्रका लागि अझ केही गर्न सक्थेँ हुँला ।
पुराना दिन सम्झँदा गर्व लाग्छ । जब आचार्य गर्दै थिएँ, चौबीस दिने सुत्केरी थिएँ । स्ववियु चुनाव लडेर सभापति जितेँ । ४४ सालको कुरा हो । तर जहाँबाट आचार्य गरेँ त्यहीँ मलाई पनि एकदुई पिरियड पढाउन देऊ न भनेर सत्रौँपटक अनुनय–विनय गरेँ, तर दिएन नेपाल संस्कृत विश्वविद्यालयले ।
जतिबेला म संस्कृति राज्यमन्त्री भएँ, पुराण–सप्ताहहरूमा गएँ । पण्डितहरूले उल्टोपाल्टो गर्दा यसो होइन, उसो हो भन्नसक्ने क्षमता बनाइसकेकी थिएँ । पण्डितले पण्डित्याइँ छाडेर किन राजनीतिमा लागेको भन्नुहुन्थ्यो ।

प्रतिक्रिया