काठमाडौं, २३ साउन । एमालेका असन्तुष्ट जनजाति नेताहरू आदिवासी जनजाति महासंघले तयारी गरेको नयाँ पार्टी गठनमा सामेल नहुने भएका छन् । नयाँ शक्ति निर्माणको आवश्यकता महसुस गरे पनि आफूहरूले जातीय र क्षेत्रीय रूपको पार्टी गठन नगर्ने जनाउँदै जनजाति पार्टीमा सामेल नहुने उनीहरूले जनाएका हुन् ।
आदिवासी जनजाति महासंघको भेलाले विश्व आदिवासी जनजाति दिवसका अवसरमा २५ साउनमा नयाँ पार्टी गठन गर्ने उद्घोष गरेको थियो । जनजातिहरूको पार्टी गठन गर्ने विषयमा आफूहरूसँग केही बुद्धिजीवी आए पनि आफूहरूले त्यस्तो तयारी नगरेको एमाले उपाध्यक्ष अशोक राईले बताए । ‘नयाँ पार्टी घोषणा नै गर्ने भनेर त हामीसँग कोही आउनुभएको छैन, पार्टी गठन गरौँ भनेर मात्र आउनुभएको छ,’ राईले सौर्यसँग भने, ‘जनजातिको मात्र पार्टी गठन गर्ने स्तरको तयारी हामीले गरेका छैनौँ ।’
आदिवासी जनजातिहरूको नयाँ पार्टी गठनको डिजाइनबारे आफूहरूलाई जानकारीसमेत नरहेको राईले बताए । ‘उहाँहरूको पार्टी गठनको डिजाइन कस्तो छ, मलाई जानकारी छैन,’ राईले सौर्यसँग भने । उनले मूलधारका राजनीतिक पार्टी अदिवासी जनजाति र उत्पीडित वर्गका समस्या समाधान गर्न उदासीन देखिएकाले नयाँ शक्तिको आवश्यकता भएको आफूहरूले महसुस गरेको र त्यसका लागि अध्ययन भइरहेको बताए । ‘हामी जातीय र क्षेत्रीय पार्टी गठन गर्ने होइन, सम्पूर्ण उत्पीडित जाति, क्षेत्र, वर्ग र समुदायको राष्ट्रिय पार्टी बनाउने अध्ययनमा छौँ,’ उनले भने, ‘तर, त्यो तत्काल होइन ।’
उपाध्यक्ष राईसहित एमालेका केही जनजाति नेताले एकल जातीय पहिचानका प्रदेश मागसहित पार्टीका औपचारिक बैठक र कार्यक्रम बहिष्कार गर्दै आएका छन् । उनीहरूले पार्टीमा अलग विचार समूहका रूपमा समानान्तर गतिविधि चलाउँदै आएपछि पार्टीले ती नेताहरूले सम्हालेका विभाग र फाँटको जिम्मेवारी काममा सक्रिय नहुन्जेलका लागि भन्दै खोसेको थियो । असन्तुष्ट जनजाति नेताहरूले एकल जातीय पहिचानका प्रदेशका पक्षमा पार्टी उभिनुपर्ने र राजनीतिक निकासका लागि संविधानसभा पुन:स्थापनाको विकल्पमा जान तयार रहनुपर्ने माग गर्दै आएका छन् । तर, एमालेले संघीयताबारे बहुपहिचानका ७ प्रदेशमा जाने र सहमतिको सरकार गठन गरी त्यसैमार्फत नयाँ जनादेशमा जाने निर्णय लिइसकेको छ ।
असन्तुष्ट जनजाति नेताहरूले भने आºनो जिम्मेवारी खोसिएपछि स्थानीय पार्टी कमिटी र जनसंगठनमा अलग्गै विचार समूहका रूपमा समानान्तर संगठन बनाउने तयारी गरेका छन् । पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुमा केन्द्रीय सदस्य शैलेश लामाको संयोजकत्वमा अलग समूह उनीहरूले यसअघि नै बनाएका छन् । असन्तुष्ट जनजाति नेताहरूले अलग विचार समूहका रूपमा कार्यक्रम सञ्चालन गर्न थालेपछि आइतबार बसेको स्थायी समिति बैठकले पार्टीका तल्ला कमिटीलाई सर्कुलर गरी केन्द्रसँग परामर्श गरेर मात्र तल्ला कमिटीहरूलाई कार्यक्रम निर्धारण गर्ने निर्णय गरेको छ । उनीहरूको समानान्तर गतिविधिलाई नियन्त्रणमा लिन स्थायी समितिले यस्तो निर्णय गरेको हो । पार्टीको अनुशासन आयोगले उपाध्यक्ष राईसहित १० केन्द्रीय नेतालाई पार्टी नीतिविपरीत अवाञ्छित गतिविधि रोक्न भन्दै स्पष्टीकरण सोधेको थियो । तर, जनजाति नेताहरूले भने स्पष्टीकरण दिएका छैनन् ।
प्रतिक्रिया