सिरियाली राष्ट्रपतिको समर्थनमा सिड्नीमा जुलुस

सिड्नी : सिरियामा भइरहेको सरकारविरोधी आन्दोलनका क्रममा विदेशी शक्तिको बढ्दो हस्तक्षेप भएको भन्दै सयौँ व्यक्तिले अस्ट्रेलियामा विरोध जुलुस प्रदर्शन गरेको समाचारमा जनाइएको छ । आइतबार अस्ट्रेलियाको सिड्नी सहरमा सिरियाली शासक राष्ट्रपति बसर अल असदको समर्थन गर्दै विदेशी शक्तिको विरोधमा उक्त जुलुस प्रदर्शन भएको समाचारमा उल्लेख छ ।
सयौँको संख्यामा प्रदर्शनकारी रहेको उक्त जुलुसमा सिरियाली झन्डा बोकेका युवायुवतीले आफूहरूले सिरियाली सरकार र जनताको समर्थन गरेको जनाएका छन् । त्यस जुलुसका व्यक्तिहरूले सिरियाली झन्डा बोकेका र ब्यानरमा संयुक्त राष्ट्रसंघले सिरियामा गर्ने भनेको विशेष कारबाहीलाई चीन र रुसले सुरक्षा परिषद्मा विषेशाधिकार (भिटो) प्रयोग गरेकोमा धन्यवाद दिएका र ‘सिरिया हाम्रो राष्ट्र हो,’ ‘बसर हाम्रा नेता हुन्’ भन्ने
प्लेकार्ड र ब्यानर बोकिएको समाचारमा जनाइएको छ ।
मध्यसिड्नीको सरकारी कार्यालयअगाडि ती प्रदर्शनकारीले प्रदर्शन गरेको समाचारमा उल्लेख छ । प्रदर्शनकारीले संयुक्त राज्य अमेरिका नेतृत्वको नेटोको हस्तक्षेपले आन्दोलन चर्किएको समेत आरोप लगाएका छन् । सन् २०११ को मार्चदेखि राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै सुरु भएको यस आन्दोलनमा २१ हजारभन्दा बढीले ज्यान गुमाएको पनि दाबी गरिएको छ । सिरियाली सरकारले आफ्नै जनतालाई किन मार्छ भन्ने प्रश्नसमेत प्रदर्शनमा गरिएको जनाइएको छ । (एजेन्सी)

प्रतिक्रिया