ताप्लेजुङ, २२ साउन । एक वर्षअघि पहिरोले भवन भत्काएपछि पालमुनि अध्ययन गर्दै आएका विद्यार्थीले अझै पक्की भवनमा पढ्न पाएका छैनन् । राष्ट्रिय मावि पेदाङका विद्यार्थी पालमुनि नै अध्ययन गर्न बाध्य छन् ।
पहिरोले भत्काएको भवन पुन:निर्माण नभएपछि चार सय विद्यार्थी पालमुनि अध्ययन गर्न बाध्य भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेलप्रसाद बुढाक्षत्रीले जानकारी दिए । बुढाक्षत्रीका अनुसार दुईकोठे ब्लक मात्र निर्माण भएकाले सबै कक्षा पालमुनि पढाइ भएको हो ।
‘रकम अभावका कारण भवन निर्माणमा ढिलाइ भएको हो,’ बुढाक्षत्रीले भने । शिक्षा कार्यालय ताप्लेजुङबाट प्राप्त रकमले ब्लक निर्माण भएको हो । शान्ति मन्त्रालयले १५ लाख रुपियाँ छुटयाए पनि ६ लाख रुपियाँ प्राप्त भएपछि एउटा भवन निर्माणाधीन रहेको छ । पूर्ण बजेट नआएका कारण विद्यालय भवन निर्माण अलपत्र परेको बुढाक्षत्रीले बताए । ‘मन्त्रालयबाट रकम निकासाका लागि पहल भइरहेको छ,’ बुढाक्षत्रीले भने ।
पहिरोले विद्यालयको भवनमा क्षति पुगेपछि विभिन्न समस्या झेल्दै विद्यार्थी अध्ययन गरिरहेका छन् । ‘चर्को घाम होस् या मुसलधारे वर्षा,’ कक्षा ८ की छात्रा प्रभा बुढाक्षत्रीले भनिन्, ‘पढाइ पूरा गर्न ज्यान धरापमा पारेका छौँ ।’
विद्यालयका प्रधानाध्यापक श्याम भण्डारी जिल्लाका थुप्रै सरोकारवाला निकायसँग आर्थिक सहयोगका लागि प्रस्ताव गरिए पनि सहयोग नपाइएको बताउँछन् । ‘पानी चुहिने तथा घाम नछेक्ने टहरामा पठनपाठन भएको एक वर्ष बितिसकेको छ,’ भण्डारीले भने, ‘रकम अभावले विद्यालयको भवन बनाउन सकिएको छैन ।’
विद्यालयले पाँच रोपनी जग्गा खरिद गरेर टहरा निर्माणपछि पठनपाठन गरिएको हो । टहरा निर्माणका लागि शिक्षा कार्यालयले २४ थान र नेपाल रेडक्रस सोसाइटीले १२ थान पाल उपलब्ध गराएको थियो । गत वर्ष उपलब्ध गराएका पाल पुराना भएका छन्, जिल्ला प्रशासन कार्यालयले ३० वटा प्लास्टिकका कुर्सी र जिल्ला विकास समितिले पाँच सय लिटरका तीनवटा पोलिटयांक तथा तीन सय मिटर पाइप र तीनवटा धारा उपलब्ध गराएपछि विद्यालय सञ्चालनमा आएको हो ।
विद्यालयमा एक परिचरसहित १४ शिक्षकशिक्षिका र चार सय विद्यार्थी छन् । १८ साउन ०६८ मा पेदाङ–४ को ठूलीभिरबाट आएको पहिरोले विद्यालय बगाएको हो ।
प्रतिक्रिया