नेपालगन्ज, २२ साउन । बाँकेका विभिन्न सामुदायिक वनबाट काठ चोरीतस्करी बढेको छ । सामुदायिक वनका पदाधिकारी र वन कर्मचारीकै मिलेमतोमा तस्करले वन हाताका हरिया साल काटेर तस्करी गर्दै आइरहेको पाइएको छ । कार्यक्षेत्रमा खटिएका वन कर्मचारीले तस्करबाट रकम लिएर काठकटान गरेको नदेखेभैँm गर्नाले तस्करले निर्बाधरूपमा काठ तस्करी गरिरहेको उपभोक्ताले बताएका छन् ।
बाँकेको राप्तीपारिको बैजापुर इलाका वन कार्यालयअन्तर्गतका जंगलबाट बढी काठ तस्करी भइरहेको छ । सरकारले रूख कटान मात्र होइन वन प्रवेशमा समेत रोक लगाए पनि राप्तीपारिका विभिन्न वनबाट काठ कटान र चोरीतस्करी रोकिएको छैन ।
राप्तीपारि बिनौना गाविसमा हरिया सालका गोलिया तस्करी गरी ल्याइरहेको अवस्थामा केही समयअघि ट्रयाक्टरसहित तीन जना पक्राउ परेपछि काठ चोरीतस्करीको खुलासा भएको हो ।
जिल्ला वन कार्यालय बाँकेका सहायक डिएफओ श्याममणि मण्डलले दिएको जानकारी अनुसार, बिनौना गाविसमा रहेको कर्णेराजा सामुदायिक वनबाट काटिएको काठ भे १ त २३९७ नम्बरको ट्रयाक्टरमा ल्याइरहेका बेला नियन्त्रणमा लिइएको हो ।
बरामद गरिएको काठ जिल्ला वन कार्यालय बाँकेमा ल्याइएको छ । काठसँगै पक्राउ परेका बिनौना–८ का बजरंगवली थारू, सोही गाविस–९ का सूर्य ओली र नछेदु थारूमाथि अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ ।
सामुदायिक वनमा अवैधरूपमा रूख काटिएको भन्दै संसदीय प्राकृतिक स्रोतसाधन समितिको अनुगमनपश्चात् वन मन्त्रालयले बाँकेमा रूख कटान तथा ओसारपसारमा दुई वर्षअघि रोक लगाएको थियो ।
काठ तस्करले सामुदायिक वनमा वैधानिक रूपमा रूख काट्न नपाएपछि लुकिछिपी सालका रूख काटेर तस्करी गरिएको हो । वन कर्मचारीसँगको मिलेमतोमा राप्तीपारि क्षेत्रबाट तस्करले सालका रूख कटान गरी चिराएर बिक्रीका लागि नेपालगन्ज र दाङका स–मिलमा पुर्याउने गरेको जिल्ला वन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया