बाढी प्रभावितलाई राहत वितरण सुरु

दाङ, २१ साउन । दाङको देउखुरी उपत्यकामा डुवानमा परेका बाढी प्रभावित स्थानीयलाई आजबाट राहत वितरणको कार्य सुरु भएको छ ।
हाल सम्म सिसहनियाँ गाविसका १ सय ११ परिवार, लालमटियाका १० परिवार र सोनपुरका ३५ परिवारलाई खाना, लत्ता, कपडा र बस्नका लागि त्रिपाललगायतका सामाग्री वितरण गरिएको छ ।
उनीहरुलाई स्थानीय संघसस्था, व्यापारी, उद्योग बाणिज्य संघ, रेडक्रस सोसाइटीलगायतले सहयोग गरेका हुन् ।
शुक्रवार बाढीबाट आफन्त गुमाउने दुई जनाको परिवारलाई स्थानीय प्रशासनले ४०/४० हजारका दरले किरिया खर्च वितरण गरेको छ । उनीहरुले सो रकम आज पाएका हुन् ।
दाङका प्रमुख जिल्ला अधिकारी मधुसुदन बुर्लाकोटीले बाढीमा परेर ज्यान गुमाएका सिसहनियाँ–९, भगवानपुरका ४५ वर्षीय खैरुन निसा र गोबरडिहा–९, सुपेलाका ४० बर्षीय ज्ञानबहादुर पुनका परिवारलाई राहात वितरण गरेका हुन् ।
दैलेख चिसापानी स्थायी घर भई हाल सीमा सुरक्षा बल अर्जुन खोलामा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार २७ बर्षीय रामबहादुर रानाका परिवारलाई स्थानीय प्रशासनले शनिबार नै ४० हजार राहत बितरण गरेको थियो । बाढी पीडितको उद्धारका क्रममा रानाले ज्यान गुमाएका थिए ।
स्थानीय प्रशासनले बेपत्ताका परिवारलाई भने राहत वितरण गरेको छैन ।
प्रहरीको प्रारम्भीक अनुमानमा देउखुरीका ८२ घर परिवार पूर्ण रुपमा विस्तापित भएका छन् । उनीहरुका घर पूर्ण रुपमा क्षति हुनुका साथै ओढ्ने, ओछ्याउने, लुगाफाटो, पकाउने भाडा, अन्नपात सबै बाढीले बगाएर लगेको छ ।
८२ घरका चार सय १७ जना सर्वसाधारण विस्थापित भएका छन् । सिसहनियाँका ५५, सोनपुरका १५, लालमटियाका १० र गोवरडिहाका २ वटा घर पूर्ण रुपमा क्षति पुगेको छ । विस्थापितहरु कहलुवामा त्रिपाल टागेर बसिरहेका छन् ।
गोवरडिहाका तीन, लालमटियाका ४६, सिसहनियाका चार सय ३७ र सोनपुरका एक सय २३ घरमा आंशिक क्षति पुगेको छ । बाढीबाट सिसहनियाँको कोहलुवा सबै भन्दा धेरै प्रभावित भएको छ ।
कोहलुवामा एक सय २८ मध्य ११ घरमा पूर्ण रुपले क्षति पुगेको छ । ४८ घरमा आंशिक क्षति पुगेको छ ।
देउखुरीमा रहेको प्रगन्ना सिंचाइ आयोजनाको काम समय मै पुरा हुन नसक्दा गाउँमा बाढी पसेको स्थानीयको आरोप छ । आयोजना पूर्व सम्झौता अनुसार नहुनु, भ्रष्टाचार गरेर कमसल काम गरेका कारण स्थानीयले समस्या भोग्नु परेको आरोप छ ।
बाढीका कारण देउखुरीको सयौं विघा खेती योग्य जमिन बगरमा परिणत भएको छ । तर क्षतिको पूर्ण विवरण भने अझै आउन सकेको छैन् ।
बाढीका कारण देउखुरीका लालमटिया, सिसहनियाँ, सोनपुर, गंगापरस्पुर, गोवरडिया, सतवरिया, बेला, राजपुरलगायतका गाविसहरु डुवानमा परेका थिए ।
मर्नेको संख्या चार पुग्यो
गोबरडिया–६, महदेवामा राप्ती नदीको बिच टापुमा फेरी एक पुरुषको शव फेला परेको छ ।
मृतकको पहिचान हुन सकेको छैन । नदीको बिच टापुमा शव देखिए पनि बाढीका कारण बाहिर ल्याउन नसकिएको प्रहरीले बताएको छ ।
यस अघि शुक्रवार एक प्रहरी जवान सहित एक महिला र पुरुषको बाढीका कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया