काठमाडौं, २० साउन । प्रहरीले अविरल बर्षा र बाढीका कारण विभिन्न जिल्लामा अलपत्र परेका स्थानीयलाई उद्धार गरेको जनाएको छ ।
कपिलवस्तुमा अवरिल बर्षाले शुक्रबार साँझ बाणगंगा नदीमा आएको बाढीमा अलपत्र परेका स्थानीयको प्रहरीले उद्धार गरेको छ ।
प्रहरीले हर्दौना गाविसका वडा नम्वर १, २, ३, ४, ५, ६ र ७ बाट करिव ६० वटा फुसका घरबाट एक सय बढी सर्वसाधारणको उद्धार गरेको छ ।
उनीहरुलाई प्रहरी टोलीले उद्धार गरी सुरक्षित स्थानमा राखेको जनाएको छ ।
उता, बर्दीया जिल्लामा अविरल बर्षाले भीमापुर–९, चैनपुरस्थित बुढी कुलोमा पानी बडेर ५१ घर डुवानमा परेका छन् । शुक्रबार राति परेको पानी पछि डूबानमा परेका व्यक्तिहरुलाई उद्धार गरी गोडियाना उच्च माध्यामिक बिद्यालयमा राखेको प्रहरीले जनाएको छ ।
कैलालीको टीकापुर नगरपालिका–९, शक्तिनगरस्थित सुकुम्वासी विशिरमा पनि शुक्रबार बेलुका प्रहरीले स्थानीयको उद्धार गरेको छ ।
अविरल बर्षाले पानी जम्न गई ८५ वटा घर डुबानमा परेपछि सो स्थानमा रहेका ४ सय २२ जनालाई उद्धार गरेर आफन्त तथा शक्तिदेवी प्राथमिक बिद्यालयमा राखेको प्रहरीले जनाएको छ ।
चौमला गाविसको चतौरा बस्ने ओमप्रसाद पौडेलको घर गौरी गंगा नदीले कटान गरी जोखिममा परेकोले प्रहरीले उनलाई पनि उद्धार गरी घरमा रहेकालाई केदारेश्वर प्राथमिक बिद्यालयमा राखेको छ ।
यता, बाँकेमा शुक्रबार राती परेको अवरिल बर्षाले कम्दी–९, जिघनियाघाटस्थित राप्ती नदीमा रहेको पुलको १ सय मिटर पूर्व पानीको बहाव बढन गई अंदाजी १० मिटर बाटो कटान गरको छ ।
पुल नजिक कटान भएपछि राप्ती वारीपारी आवत–जावत गर्ने सडक अवरोध भएको छ ।
उता, म्याग्दीको अर्मन–६, गोलखर्क भन्ने स्थानमा शुक्रबार पहिरो आउँदा भीमबहादुर खत्री सहित ७ जनाको घर, गोठ, खेत, अन्न बालीसमेत बगाई दिएको प्रहरीले जनाएको छ । उनीहरुको पनि उद्धार गरिएको छ ।
पहिरोले करीव ५० लाख रुपियाँ बराबरको धनमाल क्षती भएको छ । पहिरोले अन्य २ जनाको घर समेत जोखिममा परेका छन् ।
प्रतिक्रिया