माओवादी कमरेडहरूको पछिपछि

मेरो पत्रकारिताको १० वर्षे अवधि यस्तो समयमा बित्यो, जतिबेला देशको राजनीतिमा निकै ठूलो उथलपुथल भयो । राजनीतिका धेरै एजेन्डा स्थापित र विस्तापित भए । नेतृत्व परिवर्तन भयो । कोही गुमनाम भए, कोही चम्किए ।
माओवादीले २०५२ फागुनमा जनयुद्ध सुरु गर्‍यो र सम्पूर्ण गतिविधि भूमिगत रूपमा चलाउन थाल्यो । फौजी आक्रमणदेखि राजनीति र संगठन विस्तार पनि भूमिगत शैलीमै गर्न थाल्यो । दिन बित्दै जाँदा माओवादी विद्रोह देश–विदेशका शक्तिकेन्द्र र सञ्चारमाध्यमका लागि चासोको मुद्दा बन्दै गयो । ठीक यही बेला मेरो पत्रकारिता यात्रा सुरु भयो । र, सुरु भएकै दिनदेखि माओवादीको विषयमा समाचार लेखन मेरो विषय बन्यो ।
भूमिगत शैलीमा हुने माओवादीका कार्यक्रम हुन वा नेताको अन्तवार्ता, मेरो चासोको विषय हुने गथ्र्याे । यसका लागि माओवादीले भन्ने गरेको आधार इलाका मानिएका मध्यपश्चिमका मात्र होइन, पूर्वीनेपालका धेरै जिल्लामा रिपोर्टिङका लागि पुग्थँे । यस्तो हिँडाइमा हजारौँ माओवादी नेता/कार्यकर्तासँग कुराकानी हुने गथ्र्यो र पत्रकारको हैसियतमा मेरो चासो त्यहाँभित्र देखापर्ने नयाँनयाँ विषयवस्तु लेखनमा रहन्थ्यो । अझ, अन्य सञ्चारमाध्यममा नआएका तथा स्वयं माओवादीले बाहिर ल्याउन नचाहेका विषयवस्तु लेखनका प्राथामिकतामा पर्थे ।
जनयुद्धभित्र फौजी घटनाक्रम मात्र होइन, माओवादी नेतृत्वमा देखिने अन्तरकहल पनि चासोपूर्वक नियालिरहेको थिएन्ँ । नेताहरूसित भेट हुँदा पनि कलहका भित्री पाटाहरूमै छलफल चल्ने गथ्र्यो । त्यस्ता छलफलले मलाई प्रष्ट संकेत दिन्थ्यो– ‘राजनीतिमा विचार, सिद्धान्त र एजेन्डामा बहस मात्रै हँुदैन, नेताहरूमा भित्रभित्रै टुसाइरहेको महत्त्वाकांक्षाले पनि राजनीतिलाई प्रभावित बनाइरहेको हुन्छ ।’
माओवादी शान्तिप्रक्रियामा आएपछि उसले उठान गरेका मुद्दा, उसमा आएको रूपान्तरण (राजनीतिक र सैद्धान्तिक) बारे अलि बढी चासो जाग्न थाल्यो । राजनीतिक, वैचारिक रूपान्तरणहरू त्यति सजिलै हुँदैनथे, त्यसबेला माओवादीभित्र विचारको कुराले निकै ठूलो विवाद बनाउँथ्यो । शान्ति प्रक्रियापछिका खुला र ठूला सबैजसो पार्टीका आन्तरिक बैठक वा भेलाहरू विवादबाट मुक्त हुँदैनथे । ती सबै विवादको अध्ययन र रिपोर्टिङ गरिरहेँ । जनयुद्धकालीन अन्तरसंघर्षहरू कस्ता थिए ? मेरो अध्ययनको विषय बन्यो । तर, सबै तथ्य र दस्तावेजहरू संकलन हुन सकेका थिएनन् । त्यसकारण २०६४ सालतिर अन्तरसंघर्षबारे पुस्तक लेख्ने सम्भवाना सकियो । त्यसपछिका केही वर्षसम्मका सूक्ष्म अध्ययन र सामग्री संकलनले यो किताब सम्भव भयो । पुस्तकले एउटा आकार त लियो तर प्रकाशन गर्ने अवस्था रहेन ।
माओवादीभित्रका विवाद एकपछि अर्को गर्दै बढिरहे । ती मुद्दाहरू पनि पुस्तकमा समेट्दै गएँ । अन्तत: माओवादीको एउटा समूहले पार्टीपार्टी विभाजन गरेर नयाँ पार्टी निर्माण गर्‍यो र लगत्तै पुस्तकले पनि अन्तिम रूप पायो । माओवादीको विस्तारित बैठक सुरु हुने दिन १ साउनमा बजारमा आउने गरी प्रकाशकले पुस्तक छाप्यो । (कुराकानीमा आधारित)

प्रतिक्रिया