स्तनपान सप्ताह सुरु

काठमाडौं : ‘विश्व स्तनपान सप्ताह विविध कार्ययोजना तयार पारी सफलतापूर्वक मनाऔँ’ भन्ने नाराका साथ नेपालमा पनि बुधबार विश्व स्तनपान सप्ताह सुरु भएको छ । विश्व स्वास्थ्य संगठन र युनिसेफको संयुक्त पहलमा सन् १९९५ देखि हरेक वर्ष स्तनपान सप्ताह मनाउन थालिएको हो । बच्चालाई कसरी स्तनपान गराउँदा उपयुक्त हुन्छ भन्नेबारे जनचेतनामूलक कार्यक्रमका साथ स्तनपान सप्ताह मनाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्तनपानको महत्त्व सर्वसाधारणलाई दर्शाउन, शिशु जन्मेको एक घन्टाभित्र स्तनपान गराउने संख्या बढाउन र स्तपान नगराउनाले हुने समस्याबारे सचेत गराउन साताभर जनचेतनामूलक कार्यक्रम आयोजना गरिने स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य महाशाखाका निर्देशक डा. श्यामराज उप्रेतीले जानकारी दिए ।
बच्चालाई दुई वर्षसम्म निरन्तर आमाको दूध खुवाए उनीहरूको बौद्धिक र शारीरिक विकास छिटो हुने र स्वस्थ रहन मद्दत पुग्ने स्वास्थ्यकर्मीको भनाइ छ । उनीहरूका अनुसार शिशुको शारीरिक तथा मानसिक वृद्धिका लागि जन्मेदेखि ६ महिनासम्म आमाको दूध अत्यन्त आवश्यक पर्ने र स्तनपान गराउने आमाहरूमा स्तन तथा पाठेघर क्यान्सरको सम्भावनासमेत कम हुन्छ ।

प्रतिक्रिया