सुर्खेत (खजुरा), १७ साउन । ढिकेनुनको प्रयोग गर्न बाध्य मध्य तथा सुदूरपश्चिमका बासिन्दा अलिनो खान बाध्य छन् ।
हिमाली र पहाडी जिल्लाका दुर्गम क्षेत्रका बासिन्दा स्थानीय बजारमा ढिकेनुनको अभाव भएपछि यस्तो समस्यामा परेका हुन् । सडकले नछोएका यहाँका पहाडी तथा हिमाली जिल्लाका दुर्गम गाविसमा नुन र चामलदेखि साबुन र तेलसम्मका दैनिक उपभोग्य सामग्रीको अभाव भएको छ । सर्वसाधारणले सरकारी सहुलियतको नुन र चामल त परको कुरा, व्यापारीले लैजाने सामान पनि पाउन छाडेका छन् । सडक यातायातले छोएका जिल्लाका दुर्गम क्षेत्रमा वर्षाका कारण सडक अवरुद्ध भएपछि दैनिक उपभोग्य वस्तुको अभाव भएको छ भने हवाई यातायात पुगेका जिल्लामा भनेजति दैनिक उपभोग्य वस्तु नपुग्दा समस्या भएको छ । हवाई मार्गबाट पुगेको नुन, तेल, खाद्यान्न सदरमुकाम र आसपासका हुनेखानेले पहिले नै लगिसक्छन्, दुर्गममा भने सधैँ अभाव भइरहन्छ ।
निजी विमान कम्पनीले कार्गो भाडा वृद्धिसँगै नियमित रूपमा दैनिक उपभोग्य वस्तुको ढुवानी प्रभावकारी बनाउन नसक्दा उपभोग्य वस्तुको अभाव हुनाका साथै मूल्य अकासिएको जुम्लाका व्यापारी भूपेन्द्र लामा बताउँछन् । उनका अनुसार एक सय २० मा पनि एक किलो चिनी आउन छाडेको छ भने त्यति नै पैसा तिर्न तयार हुँदा पनि आधा लिटर खाने तेल पाइँदैन । यसैगरी चिउरा, मैदा, चाउचाउ पनि पाउनछाडेको छ । ढुवानी नहँुदा सरकारले कर्णालीका मुगु, डोल्पा, हुम्ला, जुम्ला र कालीकोट जिल्लामा वितरण गर्ने सहुलियतको आयोडिन नुन पनि सधैँ अपुग हुँदै आएको छ । ढुवानी समस्याकै कारण सुदूरपश्चिमको बझाङ, बाजुरा, बैतडीलगायतका जिल्ला पनि नुन र खाद्यान्न संकटमा छन् ।
सहुलियतको नुनसँगै चामल पनि नपाएपछि जाजरकोटका बारेकोट, दह, पैक, अर्छानी, नायकबाडा, रग्दा, भगवती, रोकायगाउँ र लह मुगुका भिइफोतु, नार्थपु, जिमा, रारा, कालै, धैनकोट, खमाले, सेरी, गम्था, श्रीकोट, कोटडाँडा र ह्याङ्लु गाविस तथा अन्य जिल्लाका दुर्गम गाविस भोकमरीको खतरामा रहेका छन् । यी गाविसका धेरै घरपरिवारले नुनको अभाव झेलेको पाँच महिना हुन लागिसक्यो । त्यसैगरी डोल्पाका याला भन्ज्याङ, चिडी, कराङ, मुरसिंगाउँ, बिजोरगाउँ, सिमेनगाउँ, पत्रासी, बझाङका धुली, कागरकोट, साइपा, गारफ, हलचौर, छुरपानी डोटीका खप्तड, दौडा, भल्मा तथा डडेल्धुराका बाजिमारा, दिव्यापुरलगायतका दुर्गम क्षेत्र पनि नुन, चामल, तेललगायतका दैनिक उपभोग्य वस्तुको चपेटामा परेका छन् ।
केही वर्षअघिसम्म मध्य र सुदूरपश्चिमको पहाडमा व्यापारीले तिब्बतबाट भेडाच्यांग्रामार्फत बोकाएर ल्याएको नुन स्थानीय उपजसँग साटासाट गर्थे तर अहिले तिब्बती नुन व्यापारीलाई निरुत्साहन गरिएको अवस्थामा वर्षासँगै कर्णाली राजमार्ग अबरुद्ध भएपछि नेपालगन्ज र सुर्खेतबाट हुने ढुवानी पनि पटकपटक अबरुद्ध हुँदै आएको छ । नुनका लागि तीनदिन पैदल हिँडेर सदरमुकाम पुगेका जाजरकोट अर्छानी गाविसका लालबहादुर बूढा भन्छन, ‘आयोडिनयुक्त नुनको कुरा छाड्नुस्, ढिके नुन नपाएको पनि महिनौँ भइसक्यो ।’
प्रतिक्रिया