रौतहट, १६ साउन । गौरस्थित एक पसलमा कुहिएको जुसको प्याकेट फेला परेको छ ।
‘इन्जोय म्याङ्गो ड्रिंक’ पेय पदार्थ कुहिएको तथा दुर्गन्धित अवस्थामा फेला परेको हो । हिमालय फुड एन्ड वेभरेज प्रालि ललितपुरले २ जुलाई २०१२ मा उत्पादन गरेको जुस २८ दिनपछि नै कुहिएको अवस्थामा फेला परेको हो । अनौठो तरिकाले पूरै प्याकेट नै ग्यास भरिएर फुकेको अवस्थामा देखेपछि उपभोक्ताले खोलेर हेर्दा जुसमा लेदो तथा गन्हाउने कुहिएको झोल पदार्थ भेटिएको हो ।
म्याद सकिन अझै आठ महिना बाँकी रहेको जुस उत्पादन भएकै महिनामा बिग्रनुले उत्पादनमा चरम लापरवाही तथा गुणस्तरमा ध्यान नदिएको प्रष्ट हुन्छ । ‘उपभोक्ताको स्वास्थ्यलाई प्रत्यक्षरूपमै असर पार्ने गुणस्तरहीन खाद्य तथा पेय पदार्थको बिक्री वितरणमा तत्काल रोक लगाउनुपर्छ,’ पूर्वजिविस सभापति सत्येन्द्र सिंहले बताए ।
स्थानीय डिस्ट्रिब्युटर शिव महिमा जेनरल स्टोर्सले रौतहटका विभिन्न स्थानमा इन्जोय म्याङ्गो ड्रिंकलाई बिक्री गरेको हो । जेनरल स्टोर्सका वितरक कुमार गौरवले ‘म्याङ्गो ड्रिंक’ मा गुनासो आएको तथा आफूकहाँ पनि विक्रेताले फुकेका तथा कुहिएका केही प्याकेट फर्काउन ल्याएको बताए । फुकेका, कुहिएर बिग्रिएका बट्टा आफूले फिर्ता लिने गरेको उनले बताए ।
अल्ट्रा प्यासराइज्ड (पास्चराइज्ड) तथा उच्च प्रविधिबाट उत्पादन गरिएको भनेर बट्टामा लेखिए पनि म्याङ्गो ड्रिंकले गुणस्तरहीन जुस बेचिरहेको पाइएको छ । बजारमा रहेका यस्ता खाद्य तथा पेय पदार्थको अनुगमन नहुँदा जनस्वास्थ्यमाथि खेलवाड भइरहेको छ ।
प्रतिक्रिया