फेल्प्स असफल, चिनियाँ किशोरीको सनसनी

लन्डन, १५ साउन । लण्डन ओलम्पिकको पौडीतर्फ आइतवार अप्रत्यासित नतिजा निस्किएको छ । चीनले अपेक्षा नै नगरेको सफलता पायो भने अमेरिकी किर्तिमानी पौडीवाज माइकल फेल्प्स पहिलो प्रतिस्पर्धामै पदक जित्न असफल भए  ।
महिला चार सय मिटर मेड्लीमा चीनकी १६ वर्षीया किशोरी यी सिवेनले चार मिनेट २८.४३ सेकेण्डको विश्वकीर्तिमानसहित स्वर्ण पदक जितिन् । तीन सय मिटरसम्म अग्रता कायम गरेकी अमेरिकाकी एलिजावेथ बासेलले रजत पदक जितिन् । उक्त स्पर्धामा चीनले नै कास्य पदक जित्यो । सिवेनले अष्ट्रेलियन स्टेफानिए राइसको नाममा रहेको किर्तिमान एक सेकेण्डले सुधार गरेकी हुन ।
पुरुषतर्फ चार सय मिटर फ्रिस्टाइलमा चीनका सुन जियाङले दक्षिण कोरियाका पार्क त वानलाई पछि पार्दै स्वर्ण पदक जिते । उक्त स्पर्धामा अमेरिकाले कास्य पदक जित्यो । महिलाको चार गुणा सय मिटर रिलेमा अस्ट्रेलियाले स्वर्ण, नेदरल्यानन्ड्सले रजत तथा अमेरिकाले कास्य पदक जित्यो । पुरुषको चार सय मिटर मेड्लीमा अमेरिकाका र्‍यान लोक्टले स्वर्ण जिते । स्वर्ण जित्ने अनुमान गरिएका अमेरिकाकै माइकल फेल्प्स चौथो स्थानमा सीमित भए । १४ ओलम्पिक स्वर्ण पदक विजेता फेल्प्सलाई यस नतिजाले गम्भिर धक्का दियो ।
विश्व च्याम्पियन अल्डो मान्टानो साब्रेको खेलमा अर्का इटालियन खेलाडी डिएगो इगुगुचीसँग १५–१३ ले पराजित भए । डिफेन्डिङ च्याम्पियन चीनका मान झांग क्वार्टरफाइनलमा प्रवेश गर्न पनि असफल रहे ।
लन्डन ओलम्पिकमा सबैभन्दा अप्रत्यासित र आश्चर्यजनक परिणाम साइक्लिङको रोडरेसमा देखियो । कजाकस्तानका अलेक्जेन्डर भेनरोभले स्वर्णपदक पाए । पदकका दाबेदार बेलायतका मार्क काभोन्डिस कुनै पनि पदक जित्न असफल रहे । स्विजरल्यान्डका परिचित साइकलचालक फाबियन क्यानसरेला स्वर्णपदकको नजिक पुगे पनि साइकल बिग्रेका कारण त्यो अवसर गुमाउन पुगे । दुई सय ५० किलोमिटरको दूरीमा १५ किलोमिटर बाँकी रहँदासम्म क्यानसरेलाले अग्रता लिएका थिए । त्यसपछि साइकलले धोका दिएका कारण ३१ वर्षीय क्यानसरेलाले रेस छाडे । साइकल पल्टिएपछि घाइते भएका क्यानसरेला उपचारका लागि अस्पताल भर्ना भएका छन् । टाइम ट्रायलका चारपटकका विश्वच्याम्पियन तथा बेइजिङ ओलम्पिकका स्वर्णपदक विजेता क्यानसरेलाको उक्त स्पर्धा बुधबार छ ।

महिला जुडोमा ब्राजिललाई स्वर्ण
महिला जुडोमा ब्राजिलकी साराहा मनेजले स्वर्णपदक जितेकी छन् । ४८ किलो तौल समूहमा उनले अन्तिम खेलमा एलिना डुमुट्रीलाई पराजित गरिन् । मेनेजले बेइिजङ ओलम्पिकमा १९औँ स्थान पाएकी थिइन् भने जुडोको विश्व च्याम्पियनसिपमा तेस्रो स्थानमा रहेकी थिइन् । पुरुष ६० किलो तौल समूहमा रुसका आर्सन गाल्टास्यानले स्वर्ण पदक जिते । यसैगरी, इटालीले आर्चरीको टिम स्पर्धाको स्वर्णपदक जितेको छ । अमेरिकाले रजत पदक तथा दक्षिण कोरियाले कास्य पदक जित्यो । चीनकी वांगमिंग जुवानले महिला भारत्तोलनको ४८ किलो तौल समूहमा स्वर्ण जितेकी छन् । उनले कुल दुई सय पाँच किलो तौल उठाइन् । जापानकी हिरोमी मायाकाले रजत तथा उत्तर कोरियाकी र्‍यांग चु उवांगको नाममा कास्य रह्यो । दक्षिण कोरियाका जिंगजंग ओले सुटिङको १० मिटर एयर पिस्तोलमा स्वर्ण जिते ।

नेयमारको सानदार प्रदर्शन
लन्डन ओलम्पिकमा पुरुष फुटबलतर्फ नेयमारको सानदार प्रदर्शनपछि ब्राजिलले आइतबार बेलारुसलाई ३–१ ले पराजित गर्‍यो । समूह ‘सी’ अन्तर्गत आफ्नो दोस्रो खेलमा भिडेको ब्राजिलका लागि नेयमारले एक गोल गरेका थिए भने बाँकी दुईमा सहयोग गरेका थिए । यसअघि पहिलो खेलमा पनि विजयी भएको ब्राजिलका लागि नेयमारले एक गोल गरेका थिए भने बाँकी दुईमा सहयोग गरेका थिए । खेलमा सुरुआती अग्रता आठौँ मिनेटमा लेनान ब्रेसानको गोलमार्फत बेलारुसले लिएको थियो । तर, त्यसको सात मिनेट पनि बित्न नपाउँदै अलेक्जान्डर पाटोको गोलमार्फत ब्राजिल बराबरीमा आइपुग्यो । पाटोले नेयमारको पासलाई सदुपयोग गरेका हुन् । नेयमार आफैँले ६५औँ मिनेटमा गोल गरी टोलीलाई अग्रता दिलाए । दोस्रो हाफको इन्जुरी समयमा ब्राजिलले थप गोल गर्‍यो । नेयमारको पासमा डस सान्टोस एम्बोआबा जुरले अन्तिम गोल गरेका हुन् । दुई खेलबाट ६ अंक जोड्दै ब्राजिल समूहको शीर्षस्थानमा रहेको छ । सोही समूहको अर्को खेलमा इजिप्ट र न्युजिल्यान्डले १–१ को बराबरी खेले ।
समूह बिमा मेक्सिकोले गेबनलाई २–० ले पराजित गर्‍यो । पहिलो खेल बराबरी खेलेको मेक्सिको यस नतिजापछि चार अंकसहित शीर्षस्थानमा छ । एजेन्सी

प्रतिक्रिया