वैदेशिक रोजगारीमा मृत्यु हुने बढे

काठमाडौं, १५ साउन । वैदेशिक रोजगारीका क्रममा विदेशमा विभिन्न कारणले मृत्यु हुने संख्या बढेको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार आर्थिक वर्ष ०६८/६९ मा अघिल्लो वर्षको तुलनामा विदेशमा मृत्यु हुनेको संख्या ९३ जना बढी छ ।
बोर्डका अनुसार आव ०६८/६९ मा रोजगारीका क्रममा विदेशमा मर्नेको संख्या ६ सय ४३ जना छ । अघिल्लो आव ०६७/६८ मा पाँच सय ५० जनाको विदेशमा मृत्यु भएको थियो । सवारी दुर्घटना, मेसिनरी पार्टपुर्जामा परेरलगायतका घटनामा विदेशमा कामदारको मृत्यु हुने गरेको छ ।
सो आवमा ६ सय २९ जना पुरुष र १४ महिला कामदारको रोजगारीका क्रममा विदेशमा मृत्यु भएको छ । उनीहरूमध्ये अधिकांश करारअवधि नसकिंदै मृत्यु भएको बोर्डले जनाएको छ । रोजगारीका लागि विदेश गएमध्ये सोअवधिमा सबैभन्दा बढी मलेसियामा रहेका कामदारको मृत्यु भएको बोर्डले जनाएको छ । मलेसियामा मात्र एक वर्षमा दुई सय ३७ जनाको मृत्यु भएको छ ।
यस्तै, साउदी अरबमा एक सय ७९, कतारमा एक सय २८, युएईमा ४९, कुवेतमा २२, बहराइनमा आठ, ओमानमा ६, दक्षिण कोरियामा ६, लेवनान र इजरायलमा तीन/तीनजना र जापानमा दुईजना कामदारको मृत्यु भएको छ । उनीहरूमध्ये कतिपय सवारी तथा मेसिनरी दुर्घटनामा परेर र केहीले आफैँ आत्महत्या गरेर मृत्यु भएको बोर्डले जनाएको छ । साथै, आव ०६८/६९ मा विभिन्न दुर्घटनामा परेर अंगभंग तथा घाइते हुनेको संख्या ६४ रहेको छ ।
यसैगरी, बोर्डले विभिन्न घटनामा मृत्यु भएका तथा अंगभंग भएकालाई सो आवमा मात्र सात करोड ६५ लाख ८० हजार रुपियाँ आर्थिक सहायता वितरण गरेको छ । बोर्डले कामदार कल्याणकारी कोषबाट मृतक तथा घाइतेका आफन्तलाई सो रकम वितरण गरेको हो । करारअवधि नसकिंदै कुनै कामदारको विदेशमा मृत्यु भएमा सरकारले मृतकका हकवालालाई बोर्डअन्तर्गत कामदार कल्याणकारी कोषबाट एक लाख ५० हजार रुपियाँसम्म सहायता दिने गरेको छ । तर, करारअवधि सकिएपछि मृत्यु तथा घाइते भएको हकमा भने प्रकृति हेरेर १० हजारदेखि माथि सहायता दिने व्यवस्था छ ।
बोर्डका अनुसार अघिल्लो आवमा विदेशमा मृत्यु तथा अंगभंग भएकालाई सरकारले चार करोड ८३ लाख नौ हजार रुपियाँ सहायता वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा भने विदेशमा मृत्यु हुनेको संख्या बढेकाले सहायता वितरण बढी भएको बोर्डले जनाएको छ । बोर्डले मृतकका आफन्तको निवेदनको आधारमा राहत वितरण, शव झिकाइदिने तथा दुतावाससँग समन्वय गरिदिने गरेको छ । यस्तै, सो आवमा एक सय २२ जना मृतक कामदारको शव सम्बन्धित मुलुकबाट ल्याई उनीहरूको घरसम्म पुर्‍याइदिएको जनाएको छ ।

आव ०६८/६९ मा विदेशमा मृत्यु भएका
देश                 संख्या
मलेसिया        २३७
साउदी अरब     १७९
कतार             १२८
युएई             ४९
कुवेत           २२
बहराइन         ८
ओमान           ६
दक्षिण कोरिया  ६
लेवनान           ३
इजरायल              ३
जापान               २

प्रतिक्रिया