छात्रवृत्ति पाएका विद्यार्थीलाई चर्को शुल्क

काठमाडौं, १४ साउन । उच्च माध्यमिक शिक्षा परिषद्बाट गरिब तथा जेहेनदार विद्यार्थीका लागि छात्रवृत्तिको सिफारिस भएका विद्यार्थीसँग निजी उच्च माध्यमिक विद्यालयले चर्को शुल्क असुल्ने गरेको पाइएको छ । निजी उच्च माविहरूले छात्रवृत्तिको सिफारिस भएका विद्यार्थीबाट मासिक शिक्षण शुल्क कम देखाएर अन्य शीर्षकमा चर्को शुल्क असुल्ने गरेका छन् ।

सामाजिक सेवाभावले सञ्चालन गरिएको भनिएका उमाविमा समेत छात्रवृत्तिमा अध्ययन गर्न गएका विद्यार्थीबाट चर्को शुल्क असुलेको पाइएको छ । जेसुइट संस्थाद्वारा सञ्चालित सेन्ट जेभियर उमाविले छात्रवृत्ति पाएर अध्ययन गर्न गएका विद्यार्थीबाट वार्षिक २९ हजार रुपियाँसम्म असुलेको पाइएको छ । शिक्षण शुल्क भने वार्षिक नौ हजार ६ सय रुपियाँ छ । ल्याबको नाममा मात्र २० हजार असुल्ने गरिएको छ ।
परिषद्को ‘उच्च माध्यमिक विद्यालय अध्ययन अनुसन्धान र अनुगमन कार्यदल’ले अनुगमनका क्रममा अधिकांश निजी उमाविले छात्रवृत्ति पाएर अध्ययनमा गएका विद्यार्थीसँग चर्को शुल्क लिने गरेको तथ्य फेला पारेको हो । अनुगमनका क्रममा लैनचौरको निस्ट, मोर्गन, क्यास्पियन भ्याली, साउथ वेस्टन स्टेटलगायत विद्यालयले छात्रवृत्तिको सिफारिस भएका विद्यार्थीसँग शुल्क असुलेको पाइएको हो ।
अनुगमन कार्यदलका सदस्य तथा अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले सेन्ट जेभियरले छात्रवृत्तिमा अध्ययनको अवसर पाएका विद्यार्थीबाट २९ हजारसम्म असुलेको पाइएको बताए ।
छात्रवृत्तिमा जानेले पैसा तिर्न सक्दिनँ भन्यो भने पनि बार्गेनिङ गरेर लिएको पाइयो,’ अध्यक्ष भण्डारीले भने, ‘परिषद्ले आंशिक छात्रवृत्तिका लागि पठाएको होइन । पूर्ण छात्रवृत्ति पाउनुपर्छ, छात्रवृत्तिका नाममा पनि अभिभावक र विद्यार्थी ठग्न पाइँदैन ।’ उनका अनुसार छात्रवृत्तिमा गएकालाई ११ हजारदेखि २९ हजार रुपियाँसम्म असुलेका छन् ।
निजी उच्च माविहरूले अघिल्लो वर्ष भर्ना भएका कुल विद्यार्थी संख्याको ३ प्रतिशत परिषद्ले सिफारिस गरेका र २ प्रतिशत विद्यालय आफँैले छानेर विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने व्यवस्था छ । उमाविले भने परिषद्ले परीक्षा लिएर ‘मेरिट लिस्ट’का आधारमा पठाएका विद्यार्थीलाई समेत ठग्ने गरेका छन् ।
परिषद्को अनुगमन महाशाखा प्रमुख नारायण कोइरालाले शिक्षण शुल्क कम देखाउने र ल्याबलगायत अन्य माध्यमबाट चर्को शुल्क उठाउने गरेको पाइएको जानकारी गराउँदै कार्यदलले गम्भीर भएर रिपोर्ट लेख्ने बताए । ‘उमाविले विद्यार्थीलाई सामग्री उपलब्ध गराए मात्र पैसा लिन सक्छ, नभए औचित्यहीन विषयमा शुल्क लिन पाउँदैन,’ कोइरालाले भने, ‘शिक्षक शुल्क कम देखाउने र अरूका नाममा मनपरी शुल्क ल्याउनु जायज होइन, त्यस्ता उमाविलाई के कारबाही गर्ने भन्नेबारे कार्यदलले निर्णय गर्नेछ ।’
सेन्ट जेभियरमा विद्यार्थीबाट उठाएको शुल्कका आधारमा शिक्षक र कर्मचारीलाई उचित सुविधा नदिएको पाइएको अनुगमन टोलीले जनाएको छ । ‘तीन वर्ष टिकेका शिक्षक पाउनै मुस्किल रहेछ,’ टोलीका एक सदस्यले भने । सुविधा नदिएका कारण शिक्षक टिक्न नसकेको ती सदस्यको भनाइ छ ।
परिषद्ले उमाविमा देखिएका विकृतिबारे अध्ययन गर्न ‘उच्च माध्यमिक विद्यालय अध्ययन अनुसन्धान र अनुगमन कार्यदल’ गठन गरेको थियो । दुई टोली बनाएर २४ उमाविको अनुगमन गर्ने कार्यक्रम तय गरेको कार्यदलले अनुगमन गर्न केही उमावि मात्र बाँकी छन् । अनुगमन टोलीलाई प्रवेशमा रोक लगाएको सेन्ट मेरिज उमाविले लिखित माफी माग्दै अनुगमनमा आउन खुला रहेको जनाएको छ ।

प्रतिक्रिया