मध्यपश्चिमका उमाविमा विद्यार्थीको संकट

नेपालगन्ज, १४ साउन । बाँकेको लक्ष्मी उच्च माविमा अहिलेसम्म एकजना पनि विद्यार्थी भर्ना भएका छैनन् । व्यवस्थापन र शिक्षा संकायको पढाइ हुने उक्त उच्च माविमा अहिलेसम्म विद्यार्थी भर्ना नभएपछि यस वर्ष कक्षा सञ्चालन गर्ने कि नगर्ने भन्ने अन्योल उत्पन्न भएको हो । ‘विद्यार्थी सम्पर्कमा आइरहेका छन्, पूरक परीक्षालाई पर्खिरहेका छौं,’ उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष तप्त पौडेल भन्छन्, ‘१० जनाजति विद्यार्थी भए शिक्षा संकाय मात्र सुरु गर्ने भनेका छौं ।’

च्याउझैँ उम्रिएका मध्य–पश्चिमाञ्चल क्षेत्रका उच्च माविमा यस वर्ष विद्यार्थी अभाव भएको छ । यसपटक एसएलसी परीक्षामा न्यून संख्यामा मात्र विद्यार्थी उत्तीर्ण भएसँगै यस क्षेत्रका १५ वटै जिल्लाका उच्च माविमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीको अभाव खट्किएको हो ।
उच्च माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय कोहलपुरका अनुसार मध्यपश्चिमाञ्चलमा तीन सय ४० उच्च मावि छन् । विद्यार्थी अभावमा यस वर्ष थुप्रै उच्च मावि बन्द हुने अवस्थामा पुगेका छन् भने धेरैले विषयगत संकाय कटौती गर्दै छन् ।
कोहलपुरस्थित परिषद्को क्षेत्रीय कार्यालय प्रमुख हरिशरण वाग्ले एसएलसीको नतिजाले उच्च माविहरूलाई अप्ठेरोमा पारेको बताउँछन् । यसको प्रभाव १५ वटै जिल्लामा परेको उल्लेख गर्दै प्रमुख वाग्लेले यस वर्षको कक्षा ११ सञ्चालन गर्न धेरै उच्च माविलाई गाह्रो भएको बताए ।
निजी उच्च मावि तथा सरकारी माविमा खोलिएका दुवैखाले उच्च मावि विद्यार्थी नपाउँदा यस वर्षको कक्षा सञ्चालन गर्ने कि नगर्ने भन्ने द्वुविधामा छन् । नयाँ खुलेका निजी उच्च मावि र सरकारी विद्यालयमा खुलेका उच्च मावि संकटमा परेका छन् ।
यस वर्षको एसएलसी परीक्षामा बाँके जिल्लामा विद्यार्थीको उत्तीर्ण प्रतिशत ह्वात्तै घट्नु र उत्तीर्ण भएका आधाभन्दा बढी विद्यार्थी अन्यत्रै अध्ययन गर्न जानुले विद्यार्थी अभाव भएको उच्च मावि सञ्चालकहरू बताउँछन् । एसएलसीमा एकजना पनि उत्तीर्ण नभएपछि बाँकेको राप्तीपारि पर्ने जनशक्ति उच्च माविले कक्षा सञ्चालन नगर्ने भएको छ । भुवरभवानी उच्च माविबाट चार र सरस्वती उच्च माविबाट तीन विद्यार्थी मात्र एसएलसीमा उत्तीर्ण भएकाले यी दुवै उच्च मावि कक्षा सञ्चालनको बारेमा दोधारमा छन् ।
उच्च माविहरू बन्द हुने अवस्थामा पुगे पनि सम्बन्धन लिने कार्य भने रोकिएको छैन । परिषद्को क्षेत्रीय कार्यालयका अनुसार बाँकेमा ४८ उच्च मावि सञ्चालनमा छन् । यस वर्ष थप दुई विद्यालयले उच्च माविको सम्बन्धन पाएका छन् ।
उच्च माविहरूको छाता संगठन हिसानका केन्द्रीय सदस्य ईश्वर पोखरेलले विद्यार्थी अभावले यस वर्ष धेरै उच्च मावि बन्द हुने अवस्थामा पुगको बताए । ‘उच्च माविहरू विद्यार्थी आउँछन् कि भन्ने आशमा छन् अझै । कतिपय उच्च माविमा त अहिलेसम्म पाँच–सातजना विद्यार्थी मात्र भर्ना भएका छन् तिनले कक्षा कसरी चलाउने ?,’ नेपालगन्जस्थित आदर्श उच्च माविका प्रमुखसमेत रहेका पोखरेलले भने, ‘कम विद्यार्थी भर्ना भएका उच्च माविले अर्कोलाई विद्यार्थी दिनुको विकल्प छैन ।
पहाडी जिल्लामा एसएलसी उत्तीर्ण संख्या न्यून हुनु, प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण बढ्नु र अभिभावकलाई विश्वास दिलाउन नसक्दा आधाभन्दा बढी जिल्ला विद्यार्थी बाहिर अध्ययन गर्न जानुले पनि जिल्लाका उच्च मावि बन्द हुने अवस्थामा पुगेको उनको ठम्याइ छ ।

प्रतिक्रिया