शीतल निवासमा आराम गरेर बस्न मिल्दैन

काठमाडौं, १२ साउन । कांग्रेस र एमालेका नेताहरुले सरकारले गरेका असंवैधानिक कदमलाई राष्ट्रपति डा.रामवरण यादवले टुलुटुलु हेरेर बस्न नमिल्ने बताएका छन् ।
उनीहरुले मुलुकमा रहेको राजनीतिक र संवैधानिक संकट अन्त्यका लागि डा.यादवले छिट्टै कदम चालेर निकास दिनुपर्ने बताए ।
राजधानीमा आज आयोजित साक्षात्कारमा कांग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिह केसीले संविधानको संरक्षक र पालकको हैसियतले राष्ट्रपतिले छिट्टै कदम चाल्नु पर्ने बताए ।
केसीले सरकारले निर्वाचनको नाटक गरेर सत्ता कब्जा गर्ने षडयन्त्र गरेको दावी गरे । उनले भने, ‘सरकारले घोषणा गरेको यो निर्वाचनमा कांग्रेस यथास्थितिमा सहभागी हुँदैन ।’
विशिष्ट पूर्व पदाधिकारीहरुलाई सेवा सुविधा दिने गरी सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै नेता केसीले भने, ‘मिलिजुली देश खान र सत्ताको आयू लम्बउन यो निर्णय गरिएको हो ।’
एमाले सचिव शंकर पोखरेलले सरकारले संविधान पालना नगरेको अवस्थामा संविधानको संरक्षक राष्ट्रपति चुप लागेर बस्न नहुने बताए ।
यस्तो अवस्थामा संविधानको संरक्षक राष्ट्रपति शीतल निवासमा आराम गरेर बस्न नमिल्दैन उनको भनाई थियो ।
सरकारले एकलौटी रुपमा मंसिर–७ गतेका लागि घोषणा गरेको निर्वाचन असंबैधानिक रहेको भन्दै उनले असंबैधानिक निर्वाचनमा सहभागी नहुने स्पष्ट पारे ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले सरकार सहमतिमै निर्वाचन गर्ने पक्षमा रहेको बताए । उनले भने, ‘सहमतिमै निर्वाचनको नयाँ मिति तोकिने छ ।’
निर्वाचन वा सहमति विना सरकार परिवर्तन संभव नभएको भन्दै उनले राष्ट्रपतिलाई जति उचाले पनि सरकारलाई केही फरक नपर्ने दाबी गरे ।
विशिष्ट पूर्व पदाधिकारीहरुलाई राज्यले सेवा र सुरक्ष दिन गरेको निर्णय जायज रहेको भन्दै सल्लाहाकार पौडेलले त्यसको बचाउ गरेका छन् ।

प्रतिक्रिया