कांग्रेस र एमालेसँग मिलेर आन्दोलन नगर्ने

भैरहवा, ११ साउन । नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले सरकार विरुद्ध कांग्रेस र एमालेले गर्ने आन्दोलनमा आफूहरु सहभागी नहुने बताएका छन् ।
बटवलमा आज आयोजित पत्रकार सम्मेलनमा उनले साना वामपन्थी पार्टीहरुको संयुक्त मोर्चाले छुट्टै आन्दोलन गरिरहेकाले कांग्रेस र एमालेसँग मिलेर आन्दोलन नगर्ने बताए । यद्यपी सरकार हटाउन कांग्रेस र एमालेको मोर्चासंग तालमेल र सहकार्य भने हुने उनले स्पष्ट पारे ।
उनले विद्यमान राजनीतिक संकटको निकास सर्वपक्षीय गोलमेच सभा रहेको दोहराए । थापाले निकासका लागि संविधानसभा पुनःस्थापना, सविधानसभा चुनाव, संसदको चुनाव वा जनमत संग्रह जुनसुकै विकल्पमा सहमति गर्न आफूहरु खुल्ला रहेको बताए ।
विकल्पहरुमा जाँदा गोलमेचसभा र राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने उनको भनाई थियो ।
उनले वर्तमान सरकार रहेसम्म राजनीतिक निकास निस्कन नसक्ने ठोकुवा समेत गरे । उनले भने, ‘यो सरकारको वहिर्गमन अनिवार्य छ ।’

प्रतिक्रिया