‘बिपीले देखाएको बाटोबाट मात्र समृद्धि’

काठमाडौं, ११ साउन । कांग्रेस सभापति सुशील कोइरालाले जननायक बिपी कोइरालाले अघि सारेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नीतिबाट मात्र देशलाई समृद्धितर्फ लैजान सकिने बताएका छन् ।
बिपी कोइरालाको ३०औँ स्मृति दिवसका अवसरमा नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्यालय भवनको बुधबार राजधानीमा शिलान्यास गर्दै सभापति कोइरालाले यस्तो बताएका हुन् । प्रजातन्त्र र राष्ट्रियताप्रति समर्पित रहेर अघि बढ्नुपर्ने उनको भनाइ थियो । भने, ‘हामी राष्ट्रियताप्रति समर्पित हुन सकेनौँ भने देश अन्धकारतर्फ जानेछ ।’
उनले निजामती कर्मचारी पनि राष्ट्रियताप्रति समर्पित रहेर पेसागत हकहितलाई कायम राख्दै अघि बढ्नुपर्ने बताएका थिए । पेसाप्रति समर्पित रहेको भन्दै युनियनलाई पार्टीले सधैँ सहयोग गर्ने प्रतिबद्धता उनले जनाएका थिए । आफूले युनियन दुईवटा भएको कुरा सुनेको उल्लेख गर्दै कर्मचारीबीच समस्या भए छलफल गरी एकजुट भएर संस्थालाई बलियो बनाउन सुझाए ।
बबरमहलस्थित वन विभाग परिसरभित्रको एक रोपनी जग्गामा युनियनले बनाउन लागेको चार तलाको २२ कोठाको भवनमा सभाहल, सचिवालय, अतिथिगृह, चमेनागृह तथा पुस्तकालय रहनेछ । दुई करोड १५ लाख ५० हजार लागतमा निर्माण हुने सो भवनका लागि युनियनका केन्द्रीय पदाधिकारी र सदस्यबाट एक महिनाको तलब, जिल्ला अध्यक्ष, पदाधिकारी र १० हजार क्रियाशील सदस्यबाट गरी एक करोड ५५ लाख उठाइने र अपुग ६० लाख रकम शुभेच्छुक संघसंस्थाबाट सहयोग लिइने युनियनका अध्यक्ष सुबोधकुमार देवकोटाले बताए । भवन १६ महिनाभित्र निर्माण भइसक्ने देवकोटाको भनाइ थियो ।(प्रशिक्षार्थी)

प्रतिक्रिया