काठमाडौं, ११ साउन । निर्वाचन आयोगले नयाँ चुनावका लागि एक व्यक्तिले दुई निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिन नपाउने प्रस्ताव ल्याएको छ । संविधानसभा सदस्य निर्वाचन ऐन, ०६४ लाई संशोधन गर्न बनेको प्रस्तावित ऐनमार्फत आयोगले यस्तो प्रस्ताव अघि सारेको हो ।
आयोगले प्रस्तावित ऐन संशोधनका लागि सरकारलाई बुझाइसकेको आयोगका सहसचिव मधु रेग्मीले बताए । सहसचिव रेग्मीका अनुसार संविधानसभा सदस्य निर्वाचन ऐन, ०६४ लाई संशोधन गर्ने क्रममा सो प्रावधान राखिएको हो । यसअघि एक उम्मेदवारले एकभन्दा बढी क्षेत्रबाट पनि उम्मेदवारी दिन सक्ने व्यवस्था थियो ।
आयोगले संविधानसभा सदस्य निर्वाचन ऐन, ०६४ लाई संशोधन गर्ने क्रममा उम्मेदवारको अयोग्यताको थप व्यवस्था, उम्मेदवारले मनोनयनपत्रका साथ सम्पत्ति विवरण र अदालती कारबाहीसम्बन्धी विवरण पेस गर्नुपर्ने व्यवस्था, चुनाव खर्च व्यवस्थालगायत विषय पनि प्रस्ताव गरेको छ । त्यसैगरी, प्राप्त आर्थिक सहयोग र खर्चको लेखा राख्नुपर्ने व्यवस्था र समानुपातिकतर्फको सिट प्राप्त गर्नका लागि खसेको मतको ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने पनि प्रस्तावित संशोधन पत्रमा उल्लेख छ ।
आयोगको यस्तो प्रस्तावका विषयमा राजनीतिक दलले प्रतिक्रिया जनाइसकेका छैनन् । आयोगले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई केही दिनअघि मात्र आयोगको कार्यकक्षमा बोलाई निर्वाचन आयोग ऐन ०६३, मतदाता नामावलीसम्बन्धी ऐन ०६३ लगायत संविधानसभा सदस्य निर्वाचन ऐन ०६४ संशोधन गर्न लागेको र त्यसका प्रावधानबारे जानकारी गराएको थियो ।
प्रतिक्रिया