बाग्लुङ, ११ साउन । एक सातादेखिको अविरल वर्षाका कारण बाढीपहिलो आउँदा म्याग्दी जिल्लाको उत्तरी क्षेत्रका २९ घरपरिवार विस्थापित भएका छन् । असार अन्तिम सातादेखि जारी अविरल वर्षाका कारण दोवा, भुरुङ तातोपानी र घार गाविसका करिब एक सय घरपरिवार बाढीपहिरोबाट प्रभावित भएको सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको अनुगमन टोलीले जनाएको छ । प्रभावित क्षेत्रको अनुगमन गरेर सदरमुकाम फर्किएको टोलीले भिरालो भू–बनोटका कारण दर्जनौँ घर पहिरोको जोखिममा रहेको जनाएको छ ।
टोलीमा जिविसका प्राविधिक, गाविस सचिव, रेडक्रसकर्मी र राजनीतिक दलका प्रतिनिधि सहभागी थिए । गत असार २९ गते पहिरो जाँदा दोवा गाविसका नौ, भुरुङ तातोपानी गाविसका तीन र घार गाविसका एक घर पुरिएका थिए । पहिरोका कारण दोवा गाविसमा ४० लाख रुपिँया बराबरको धनमाल नष्ट भएको गाविस सचिव दीर्घप्रसाद गौतमले बताए । क्षतिको यकिन विवरण संकलन गर्न प्राविधिकसहितको टोली परिचालन गर्ने प्रशासनले जनाएको छ ।
प्रतिक्रिया