हलो जोत्ने युवा छैनन् गाउँमा ८० हजार वैदेशिक रोजगारीमा

बाग्लुङ, १० साउन । धौलागिरीका चार जिल्लाबाट ८० हजार युवा वैदेशिक रोजगारीमा गएका छन् । राष्ट्रिय जनगणना ०६८ को प्रारम्भिक तथ्यांकअनुसार धौलागिरीबाट ८० हजार ६ सय २६ जना विदेश गएमध्ये बागलुङबाट जानेको संख्या ४२ हजार ६ सय ५२ रहेको छ । अधिकाँश गाउँका युवा विदेशिएपछि खेतीपाती र अन्य कामका लागिसमेत समस्या भएको छ ।

बाग्लुङ, पर्वत र म्याग्दीको ग्रामीण क्षेत्रमा असार–साउनमा खेतमा काम गर्ने युवा भेटिन छाडिएको छ । तीन छोराहरू विदेशका विभिन्न स्थानमा गएपछि यसपाली खेत जोत्ने मान्छे खोज्नुपरेको बाग्लुङ बुर्तीबाङका राजु भण्डारीले बताए । तीन छोरा भए पनि हली खोज्नुपर्दा नरमाइलो लाग्यो उनले भने, हली नपाएकै कारण रोपाईं गर्न एक सातापछि सरेको थियो’ ।
गाउँमा हलो जोत्ने युवा सीमित भएपछि पालैपालो खेत जोत्नु पर्ने अवस्था आएको किसानहरू बताउँछन् । जिल्लाको देवीस्थान, बुर्तीबाङ, निसी, अधिकारीचौर, अमरभूमी, बिहु, धम्जा, तारालगायतका गाविसका अधिकांश युवा विदेश पलायन भएपछि बूढापाका र महिलाले अहिले गाउँको समस्या टार्ने गरेका छन् ।
अहिले पर्वतबाट २२ हजार एक सय ४८, म्याग्दीबाट १४ हजार तीन सय ४७ र मुस्ताङबाट एक हजार चार सय ७९ जना वैदेशिक रोजगारीमा देशबाहिर रहेको जिल्ला तथ्यांक कार्यालय बाग्लुङले जनाएको छ । वैदेशिक रोजगारीमा बाग्लुङबाट चार हजार आठ सय ३७, म्याग्दीबाट एक हजार ४६, पर्वतबाट दुई हजार दुई सय ९८ र मुस्ताङबाट चार सय ६७ जना महिला विदेश गएको कार्यलयका सूचना अधिकारी घनश्याम सापकोटाले बताए ।
वैदेशिक रोजगारीमा जानेको संख्या उच्च हुनुमा बेरोजगारी र राजनीतिक अस्थिरता मुख्य कारण रहेको अर्थशास्त्री भक्तिराम न्यौपानेले बताए । वैदेशिक रोजगरीमा गएकाहरू उतै व्यावसायिक भएका कारण व्यवसाय सञ्चालनका लागि मजदुर लैजाने कारणले पनि विदेश पलायनको संख्या बढेको न्यौपाने बताउँछन् ।

प्रतिक्रिया