बाजुरामा चरम खाद्य संकट

कैलाली, १० साउन । सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्यान्न ढुवानी हुन नसक्दा खाद्यान्नको अभाव बढेको छ । समयमै खाद्यान्न ढुवानी हुन नसक्दा बाजुराको सदरमुकाम मार्तडी डिपोमा मौज्दात चामल सकिएको छ । अन्य जिल्लामा पनि तत्काल ढुवानी नगरिए खाद्य संकट हुने जिल्लास्थित खाद्य संस्थान कार्यालयले जनाएका छन् ।

संस्थानको मार्तडी डिपोको गोदाममा मौज्दात रहेको चामल सकिएपछि कैदी र आपत्कालीन सेवाका लागि भनेर एक सय क्विन्टल चामल मौज्दात राखेर सर्वसाधारणका लागि चामल बिक्री बन्द गरिएको डिपोका कार्यालय सहायक कृष्णदत्त अवस्थीले बताए ।
‘डिपोमा चामलका लागि दैनिक ठूलो संख्यामा सर्वसाधारण आउने गरे पनि चामल नहुँदा रित्तै फर्काउने गरिएको छ,’ अवस्थीले भने, ‘दुईचार दिनभित्र अञ्चल कार्यालय धनगढीले चामल नपठाए मार्तडी क्षेत्रमा चरम खाद्यान्न संकट भएर भोकमरी हुनेछ ।’
सरकारले आर्थिक वर्ष ०६८/६९ मा बाजुराका लागि खाद्यान्न कोटा कटौती गरेपछि खाद्यान्न संकट हुने अवस्था आएको धनगढीस्थित क्षेत्रीय खाद्य संस्थान कार्यालयका प्रमुख सुरेन्द्रराज विष्टले बताए । उनले बाजुराबाट तत्काल तीन हजार क्विन्टल चामलको माग आएको तर ढुवानी गर्न केन्द्रीय कार्यालयबाट निर्देशन प्राप्त नभएको बताए ।
सरकारले बाजुराको मार्तडी डिपोमा आव ०६७/६८ सम्म आठ हजार दुई सय क्विन्टल चामल कोटा तोके पनि चामल बिक्री नभएको भन्दै आव ०६८/०६९ मा कोटाबाट घटाएर चार हजार दुई सय ५० क्विन्टल निर्धारण गरेको छ । सरकारले ढुवानी रकमसमेत कम निकासा दिएकाले क्षेत्रीय कार्यालयले चैतमा चार हजार दुई सय ३६ क्विन्टल मात्र चामल पठाएको प्रमुख विष्टले जानकारी दिए ।
‘यस आर्थिक वर्षमा सरकारले कटौती गरेको कोटामा थप गरी ६ हजार पाँच सय क्विन्टल निर्धारण गरेको छ,’ विष्टले भने, ‘तर, ढुवानीका लागि खोलेको टेन्डर रद्द भएकाले चामल पठाउन सकिएको छैन ।’ बैतडी र दार्चुलामा पनि संस्थानको चामल मौज्दात छैन भने अछाममा एक सय ८५ क्विन्टल र बझाङमा एक हजार आठ सय क्विन्टल चामल मौज्दात रहेको क्षेत्रीय कार्यालय, धनगढीले जनाएको छ । बझाङमा खाद्य डिपो टाढा पर्ने भएकाले चामल बिक्री हुन नसकेको प्रमुख विष्टले बताए ।
सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, अछाम, बझाङ, दार्चुला र बैतडीमा सरकारले बर्सेनि ढुवानी अनुदानमा चामल ढुवानी गरेर बिक्रीवितरण गर्ने गरेको छ । बढी खाद्यान्न संकट भएका बाजुराको मार्तडी, कवाडी, रुगिन र मेलौली तथा बैतडीको काडाबजारका लागि छोटो समयका लागि भनेर २३ असारमा टेन्डर खोलेको भए पनि समय अभाव र ढुवानी दर महँगो भएकाले बदर गरिएको थियो । ती क्षेत्रमा कसरी तत्काल चामल ढुवानी गर्न सकिन्छ भनेर केन्द्रसँग पत्राचार गरिएको प्रमुख विष्टले बताए । उनले भने, ‘अन्य जिल्लामा चामल ढुवानीका लागि टेन्डर स्वीकृति भए पनि विविध कारणले ढुवानी गर्न नसकिएको र बढी खाद्य अभाव देखिएका ठाउँमा केन्द्रको निर्देशन आउनेबित्तिकै ढुवानी गरिनेछ ।’

प्रतिक्रिया