सशस्त्र प्रहरी र पुलिस क्लब सेमिफाइनलमा

रौतहट, ९ साउन । १४औ एनसेल राष्ट्रिय महिला फुटबल प्रतियोगिता अन्तर्गत सोमबार रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न खेलमा विभागीय टिम सशस्त्र प्रहरीले झापालाई शून्यका विरुद्ध १२ गोलले पराजित गरेको छ । जितसँगै सशस्त्र प्रहरीले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ भने झापा प्रतियोगिताबाट बाहिरिएको छ ।
मध्यान्तरसम्म निकै संघर्षपूर्ण रहेको म्याचमा सशस्त्र प्रहरीले एक मात्र गोल गरेको थियो भने दुई गोल पेनाल्टीमा जोडेको थियो । बलियो प्रतिद्वन्द्वीका रूपमा प्रस्तुत भएको झापाका लागि कृष्णा राईले आकर्षक खेल देखाएकी थिइन् । पहिलो हाफमा झापाकी गोलरक्षक सुमित्रा काम्वाङ्गले सशस्त्रका थुप्रै प्रयास विफल बनाएकी थिइन् ।
खेलको पहिलो गोल सशस्त्र प्रहरीकी अनु लामाले १० मिनेटमा गरिन् भने ४७, ५२, ६१ तथा ७६ मिनेटमा गोल गर्दै व्यक्तिगत चार गोल गरिन् । यसैगरी जर्सी जमुना गुरुङ्गले खेलको ४३, ५२, ६७, र ८० मिनेटमा गरेको प्रहारले जाली चुमेको थियो । त्यसैगरी सशस्त्रकी प्रमिला राईले ५० र खेलको अन्तिम क्षण ९० मिनेटमा दुई गोल गरेकी थिइन् । प्रतियोगितामा लक्ष्मी पौडेलले पेनाल्टी किक प्रहार गर्दै खेलको २० मिनेटमा र ६० मिनेटमा दुई गोल गरेकी थिइन् । झापाकी कृष्णा राईलाई लडाएपछि सशस्त्र प्रहरीकी लक्ष्मी पौडेलले पहेंलो कार्ड पाएकी थिइन् भने सशस्त्रकी प्रमिला राईलाई डी बक्समा लडाउँदा झापाकी स्मृति खड्काले पहेलो कार्ड खानु परेको थियो । सेमिफाइनलका लागी महत्त्वपूर्ण रहेको यो म्याचमा बलियो प्रतिद्वन्द्वी पाएको झापाका लागि गर या मर को स्थिति रहेको थियो । विभागीय टिम जो सधैभरि नियमित प्रशिक्षणमा छ त्यस्तो टिमसँग खेल्दा अनुभव राम्रो रहेको झापाकी कृष्णा राईले बताइन् । आफ्नो टिमका लागि मेन डिफेन्स खेल्ने झापाकी सुमित्रा काम्वाङ्गले नियमित गोलरक्षकको अभावमा प्रतियोगितामा गोलरक्षको भूमिका निभाउँदा केही गाह्रो भए पनि समग्रमा प्रतियोगितामा राम्रो प्रदर्शन गरेको बताइन् । राष्ट्रिय रूपमा खेल्ने विभागीय टिमसँग हार्नुमा कुनै दु:ख नलागेको बरु महिला फुटबलमा स्थानीय स्तरसम्म पनि प्रतियोगिता र ट्रेनिङ्गको व्यवस्था गर्नु पर्ने झापाली खेलाडीले बताए ।
यसैगरी, वीरगन्जबाट प्राप्त सौर्य समाचारदाताको डिस्पेचअनुसार, घरेलु टोली बारालाई पाखा लगाउँदै विभागीय टोली नेपाल पुलिस क्लब, राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । सिमरामा सोमबार भएको खेलमा पुलिसले बारालाई उसकै मैदानमा ५–० को फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो । हारसँगै बारा प्रतियोगिताबाट बाहिरिएको छ । पुलिसका लागि चन्द्रा भण्डारी एक्लैले ४ गोल गरेकी हुन् भने अर्को एक गोल निरु थापाले गरेकी हुन् । मध्यान्तर अघि तीन गोल गरेको पुलिसले मध्यान्तर पछिको खेलमा थप दुई गोल गरि खेललाइ ५–० ले आफ्नो कब्जामा पारेको हो ।
खेलको १९ औँ मिनेटमा पहिलो गोल गरेर पुलिसलाई अग्रता दिलाएकी चन्द्राले ३८ र ५३ औँ मिनेटमा लगातार थप दुई गोल गरेर ह्याट्रिक पूरा गरेकी थिइन् । चन्द्राको पहिलो गोलमा निरु थापा र दोस्रो गोलमा रिना गुभाजुको साथ रहेको थियो भने ७७ आँैं मिनेटमा यशोदा लामाको क्रसमा चन्द्राले डी बक्स भित्रैबाट प्रहार गरेर निर्णायक गोल गरेकी हुन् ।
निरुले भने खेलको ६१ औं मिनेटमा गोल गरेकी हुन् । बाराकी गोल रक्षक आसा सिटौला अघि बढेको मौका पारेर निरुले डि बक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेको थियो । मध्यान्तरसम्म दुई गोलले पछि परेको बाराले मध्यान्तरपछि गोल फर्काउन पटकपटक कोसिस गरे पनि पुलिसको रक्षा पंक्तिका खेलाडीले विफल तुल्याइदिएका थिए । सुरुमा घरेलु दर्शकको निक्कै हुटिङ र समर्थन पाए पनि बाराका खेलाडीले अन्तत: दर्शकलाई निराश तुल्याए । शारीरिक रूपले बलिया र सुसंगठित देखिएका पुलिसका खेलाडी सामु पूरै खेल अवधिभर बाराका खेलडी निरीह साबित भएका थिए ।

प्रतिक्रिया