२४ वर्षपछि माइक्रोसफ्ट घाटामा

अमेरिका ८ साउन । कम्प्युटर क्षेत्रको स्थापित कम्पनी माइक्रोसफ्टले २४ वर्षको इतिहासमा पहिलोपटक घाटा व्यहोरेको छ । अनलाइन कारोबारमा कमी आएका कारण कम्पनीले घाटा व्यहोर्नु परेको बताइएको हो ।
माइक्रोसफ्टले आफ्नो डिजिटल मार्केटिङ सेवा ‘एक्वाटिभ’को मूल्य ६.२ अर्ब डलर घटाएको थियो । यसपछि उसले घाटा व्यहोर्नुपरेको हो । एक्वाटिभले माइक्रोसफ्टको अपेक्षाअनुसार नाफा दिन नसकेको बताइएको छ । यसैकारण जुनसम्ममा कम्पनीलाई ४९.२ करोड डलर घाटा भएको छ । जबकि अघिल्लो वर्षको यही अवधिमा ५.९ अर्ब डलर नाफा भएको थियो । सन् १९६८ मा सेयर बजारमा प्रवेश गरेको माइक्रोसफ्टले यसअघि कहिल्यै घाटा व्यहोर्नु परेको थिएन ।
विन्डोजको लोकप्रियता घट्यो
कम्पनीले सन् २००७ मा एक्वाटिभ खरिद गरेको थियो तर उसलाई आफ्नो प्रतिद्वन्द्वी गुगलसँग प्रतिस्पर्धा गर्न निकै गाह्रो भयो । माइक्रोसफ्टले एक्वाटिभ ६.३ अर्ब डलरमा खरिद गरेको थियो । अन्य क्षेत्रमा भने माइक्रोसफ्टले राम्रो प्रदर्शन गरिरहेको छ । कम्पनीको विन्डोज अपरेटिङ सिस्टमको लोकप्रियतामा हाल आएर कमी आए पनि वर्षांैसम्म यसको पर्सनल कम्प्युटर बजारमा दबदबा रहँदै आएको थियो । जुनसम्म माइक्रोसफ्टको राजस्व चार प्रतिशतले बढेर १८.०६ अर्ब डलर भएको छ । एजेन्सी

विन्डोज–८ आउँदै
पुँजी कम गर्न गरिएको समायोजन माइक्रोसफ्टको विन्डोज–८ सिस्टम लन्चसँग पनि जोडिएको छ । केही आम्दानीलाइ छोडेर हेर्ने हो भने कम्पनीले लगानीकर्ताको अपेक्षाभन्दा पनि बढी मुनाफा कमाएको छ । यो नतिजाको घोषणापछि माइक्रोसफ्टको सेयरमा १.६ प्रतिको बढोत्तरी देखिएको थियो । विन्डोज सिस्टमको अपडेट १० वर्षभन्दा बढी समयमा प्रविधिको दुनियाँमा भएको महत्त्वपूर्ण गतिविधि भएको माइक्रोसफ्टको दाबी छ । अक्टोबरमा सार्वजनिक हुने भनिएको विन्डोज–८ एक नयाँ रूपमा अगाडि आउनेछ र यसमा सबै एप्लिकेसनहरू मोजाइक टाइल्समा प्रस्तुत गरिनेछन् । महत्त्वपूर्ण कुुरा यो छ कि माइक्रोसफ्टले यो अपरेटिङ सिस्टमलाई यस किसिमले प्रस्तुत गर्नेछ कि यसले ट्याब्लेट कम्प्युटरमा पनि काम गर्नेछ । माइक्रोसफ्ट आफैंले उत्पादन गरेको ट्याब्लेट सरफेस पनि बजारमा उतार्ने तयारीमा छ । यसै साता माइक्रोसफ्टले आफ्नो अफिस सिस्टमको नयाँ भर्सनको झलक पेस गरेको छ जुन आगामि वर्ष बजारमा आउनसक्ने बताइएको छ ।

प्रतिक्रिया