बिकेन जैविक मल

कैलाली, ८ साउन । कैलालीमा मल अभाव नहटे पनि जैविक मलको बिक्री हुन सकेको छैन । कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालय धनगढीले मागअनुसार मल आपूर्ति गर्न नसेकेपछि रासायनिक मलको विकल्पमा जैविक मल ल्याएको हो ।

कम्पनीले पहिलोपटक दुई सय मेट्रिकटन जैविक मल ल्याए पनि कृषकलाई मल प्रयोगबारे खासै जानकारी नभएको कारण जैविक मल बिक्री हुन नसकेको कार्यालयले जनाएको छ ।
जैविक मल दीर्घकालीन रूपमा माटोका लागि उपयुक्त भए पनि तत्कालीन फाइदाका लागि कृषकले रासायनिक मलको बढी प्रयोग गर्ने गरेका छन् । ‘रासायनिक मलको अभावमा जैविक मल ल्यायौँ तर कृषकले लिन मानेका छैनन्,’ कृषि सामग्री कम्पनी धनगढीका निमित्त क्षेत्रीय प्रबन्धक दुर्गाप्रसाद पाण्डेयले बताए ।
गत वैशाखमा जैविक मल ल्याइएको थियो । यहाँको माटोका लागि प्रयोग गर्न ठिक छ या छैन् भनेर माटो परीक्षण गरेको रिपोर्ट आउन ढिलो भएकाले असारको तेस्रो साताबाट सो मल बिक्रीका लागि खुला गरिएको प्रमुख पाण्डेयले जानकारी दिए ।
दुई सय मेट्रिकटनमध्ये २० मेट्रिकटन मल कञ्चनपुरका लागि पठाइएको थियो भने कैलालीमा हालसम्म ४३ मेट्रिकटन मल मात्र बिक्री भएको छ । पहाडी जिल्लाबाट जैविक मलको माग नभएका कारण नपठाएको पनि कम्पनीले बतायो ।
बाँकी रहेको एक सय ३७ मेट्रिकटन मल बिक्री गर्न समस्या भएको छ । रासायनिक मल प्रयोग गर्दा तुरुन्तै प्रभाव पार्ने र जैविक मलले ढिलो गरी प्रभाव पार्ने भएकाले कृषकले जैविक मलको प्रयोग नगरेको जिकिर पाण्डेको छ ।
रासायनिक मलले छिटो प्रभाव पारे पनि दीर्घकालीन रूपमा माटोलाई नराम्रो असर पार्छ तर जैविक मलले ढिलो गरी प्रभाव पारे पनि यसले पछि गएर माटोलाई बढी उत्पादनशील बनाउने कृषि प्राविधिकले बताएका छन् । कृषि सामग्री कम्पनी धनगढीमा युरिया र डिएपी मलको अभाव रहेको छ । क्षेत्रीय कार्यालय धनगढीमा पहाडका ६ र र कैलालीलाई गरी दुई सय ५० मेट्रिकटन युरिया मल अनुदानमा भारतबाट आएको छ । सो मल बिक्रीवितरणका लागि केन्द्रबाट लोगोको फम्र्याट आइसकेको र लोगो बनेपछि २/३ दिनभित्रमा वितरण गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया