सहकार्यका लागि आसियानसँग चीनको आग्रह


बेइजिङ, ७ साउन । ‘साउथ चाइना सी’ का कतिपय भू–भागको स्वामित्वलाई लिएर चीन र दक्षिणपूर्वी एसियाली राष्ट्रबीच विवाद जारी रहेकै बेला चीनले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन आसियानसँग सहकार्यको प्रस्ताव गरेको छ । ‘साउथ चाइना सी’ मा शान्ति स्थापनाका लागि चीनले सहकार्यको प्रस्ताव गरेको चिनियाँ सामचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
‘साउथ चाइना सी’ सम्बन्धमा आसियानले ६ बुँदे अवधारणा अघि सारेपछि चीनले यस्तो प्रस्ताव गरेको हो । समुद्री क्षेत्रमा शान्ति तथा स्थिरता सुनिश्चित गर्न सहकार्यको प्रस्ताव गरेको चीनले शुक्रबार जनाएको छ ।
‘साउथ चाइना सीका सरोकारवालाहरूको आचारसंहितासम्बन्धी घोषणा बृहत् र प्रभावकारी ढंगले लागु गराउने उद्देश्यले आसियानका सदस्यसँग सहकार्य गर्न चीन इच्छुक छ,’ आसियानको ६ बुँदे अवधारणामाथि चीनको धारणा के छ भनी सोधिएको प्रश्नको जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता होङ लीले भने । आसियानको प्रस्तावमा ‘साउथ चाइना सी’मा देखिएको विवादको शान्तिपूर्ण समाधान खोज्नुपर्नेमा जोड दिइएको थियो । आसियानमा ब्रुनाई, क्याम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, थाइल्यान्ड र भियतनाम सदस्य छन् ।
आसियानका सदस्य भियतनाम र फिलिपिन्ससँग ‘साउथ चाइना सी’का कतिपय टापुको स्वामित्वबारे चीनको चर्को विवाद छ । विवादित टापुमा भियतनाम र फिलिपिन्सले भारत तथा रूससँग ग्यास तथा तेल उत्खनन् परियोजना सञ्चालन गर्न खोजिरहेका छन् । चीनले यसप्रति कडा आपत्ति जनाउँदै आएको छ । त्यसमाथि अमेरिकाले पनि ‘साउथ चाइना सी’ मा अन्तर्राष्ट्रिय पारबहन नियमावली लागु हुनुपर्ने भन्दै बखेडा झिकेपछि चीनमाथि ठूलो दबाब सिर्जना भएको छ ।
प्रशान्त महासागरको एउटा भागका रूपमा रहेको ‘साउथ चाइना सी’ ३५ लाख वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो समुद्र हुँदै विश्वका एकतिहाइ पानीजहाज ओहोरदोहोर गर्ने भएकाले यसको व्यापारिक प्रयोजन उच्च छ । समुद्रले ताइवान, मलेसिया, चीन, फिलिपिन्स, इन्डोनेसिया, सिंगापुर, भियतनामलगायतका राष्ट्रलाई छोएको छ । यसबाहेक समुद्री सतहमुनि अथाह तेल तथ ग्यास भण्डार रहेको विभिन्न अध्ययनले देखाएपछि चीनलगायत अन्य राष्ट्रले समुद्रमाथि स्वामित्व दाबी गर्दै आएका छन् ।
आफूले ‘कोर एरिया अफ इन्ट्रेस्ट’ घोषणा गरेको क्षेत्रमा शक्तिकेन्द्रहरूको चलखेल बढ्न थालेपछि चीनले समुद्री क्षेत्रमा सैन्य सक्रियता बढाइरहेको छ । ‘साउथ चाइना सी’ लाई लक्षित गरी चीनले सनसा सहरमा सैन्य अखडा स्थापना गर्ने निर्णय गरिसकेको छ । चीनको केन्द्रीय सैन्य परिषद्ले सैन्य अखडा स्थापना गर्ने प्रस्ताव अनुमोदन गरिसकेको जानकरी सिन्ह्वाले दिएको छ । (एजेन्सी)

प्रतिक्रिया