नीराको हयाट्रिकसँगै कैलाली सेमिफाइनलमा

रौतहट, ६साउन । अखिल नेपाल फुटबल संघद्वारा आयोजनामा आयोजित १४औँ एनसेल राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार सातौँ दिन रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न रोमाञ्चक खेलमा कैलालीले मोरङलाई ३–१ ले पराजित गरेको छ ।
निकै प्रतिस्पर्धात्मक खेलमा कैलालीका लागि नीरा सुनुवारले हयाट्रिक गरेकी थिइन् । नीराले खेलको ४०औँ मिनेटमा पहिलो गोल गरी अग्रता दिलाइन् भने खेलको ६६औँ र ७४औँ मिनेटमा गोल गरी कैलालीलाई जित दिलाउन सफल भएकी छन् ।
मोरङका खेलाडीलाई डिएरियाभित्र लडाएपछि मोरङले पाएको पेनाल्टीमा इन्दिरा राईले गोल गरेकी थिइन् । पानीले हिलाम्य मैदानमा पनि खेलाडीले संयमतापूर्वक खेलेपछि मोरङले हार टार्न सकेन ।
मोरङ बाई पाएर सिधै क्वार्टरफाइनल प्रवेश गरेको थियो । शनिबार चन्द्रनिगाहपुरमा सशस्त्र प्रहरीको महिला टिम र धनुषा तथा दोलखा र झापाबीच भिडन्त हुनेछ ।

प्रतिक्रिया