मूल्यवान् समय

ऋषिले भनेका छन्– सर्वोच्चता प्राप्त गर्नु जीवनको लक्ष हो । सर्वोच्चताको प्रारम्भ भित्रबाट हुन्छ । त्यसैले यजुर्वेदमा भनिएको छ– तस्मै मन शिव संकल्पमस्तु ।
जीवनको सर्वोच्चता मन हो । मनमा जीवनको सर्वोच्चता धारण गर्ने शक्ति छ । मनमा जीवनको त्यो सर्वोच्चताको चिन्तन समाउने शक्ति छ । जीवनको सर्वोच्चता त्यही अन्धकारलाई टाढा धकेल्ने क्रिया हो, त्यो अन्धकारलाई धकेलेरै नै ºयाँकिनु पर्दछ । यसका लागि संघर्ष गर्नुपर्दछ, मनसँग लड्नुपर्दछ । तर, मनसित लड्ने कसरी ? मनसित लड्न धारणा शक्ति चाहिन्छ । ध्यान, धारणा र समाधि यी तीन शब्द छन् । मैले सर्वोच्चता प्राप्त गर्नै पर्दछ भन्ने धारणाशक्ति हुनुपर्‍यो– बस जीवनको एकै लक्ष, एकै विन्दु एकै चिन्तन, एकै विचारधारा ।
यसको आधार इमानदारी हो । इमानदारी छैन भने, सर्वोच्चता प्राप्त हुन सक्तैन । पापीलाई सर्वोच्चता प्राप्त हुन सक्तैन । तस्कर, वेश्यालाई सर्वोच्चता प्राप्त हुन सक्तैन । फटाहा व्यापारी र छलीलाई पनि सर्वोच्चता प्राप्त हुन सक्दैन । तिनीहरूको मन हरदम भयभीत रहन्छ । तिनीहरू सशंकित रहन्छन्, मन हरदम, तनाबग्रस्त रहन्छ । पैसा भएर के गर्नु निद्रा आउँदैन । ऋषिले दिएको सर्वोच्चताको परिभाषा हो– भौतिकता र आध्यात्मिकता दुवैमा परिपूर्णता प्राप्त गर्नु र स्वयंममा आनन्द अनुभव गर्नु ।
करोडपतिभन्दा ठूला करोडपति त अमेरिकामा सफाइकर्ता छन् । सफाइकर्ता २० लाखको गाडीमा आउँछन् र सफाइ गरेर फर्किन्छन् । म न्युयोर्कमा हुँदा जसकहाँ बसेको थिएँ उसकहाँ सफाइकर्ता केडिलैक गाडीमा आउँथी । झाडुबढारु गर्थी, भाँडा माघ्थी र गाडी चढेर फर्कन्थी । अब कहाँ तुलना गर्ने त्यो वैभवको । सफाइकर्ताको अवस्था यस्तो छ भने अरू व्यापारीको के होला । तर, उनीहरूको मनमा फेरि पनि सन्तोष छैन । त्यो जीवनमा सन्तोष र आनन्द छैन । जीवनको आनन्द प्रेम हो, इमानदारी हो ।
जबसम्म काम गर्ने हो, इमानदारीपूर्वक काम गर्नुपर्छ । रातमा सुत्दा मनमा पूर्ण सन्तोष होस् कि आजको दिन पूरा इमानदारीका साथ व्यतीत भयो । चोरी नगर्नुलाई इमानदारी भनिँदैन । यो परिभाषा नै गलत छ । इमानदारीको अर्थ हो–आजको भोजनको हक प्राप्त गर्ने कर्तव्य निर्वाह गर्नु । ८० वर्षको उमेर छ भने पनि कुनै न कुनै प्रकारले क्रियाशील बनेर त्यो हक निभाउनुपर्छ । नोकरी गरिरहेको छ, व्यापार गरिरहेको छ– पहिलो कुरा त इमानदारी हो । अर्को कुरा ऋषिले भनेका छन्– त्यो हो निष्ठा । निष्ठाको अर्थ हो पूर्ण लगनका साथ मैले यो काम गर्नुपर्छ भन्ने ठान्नु । समय व्यर्थमा बर्वाद गरेँ भन्ने तनाब नहोस् । किनभने समय फिर्ता हुन सक्दैन । करोड रुपियाँ खर्च गरेर पनि बितेको समय फिर्ता गर्न सकिँदैन । तपाईंको आउँदो पुस्ताले पनि यस्तो गर्न सक्दैन । हिजो जुन काम गरियो गरियो, अब त्यसलाई फिर्ता गर्न सकिँदैन । समय स्वयंममा मूल्यवान् छ, हामीले आºनो त्यो इच्छाका लागि, त्यो समयमा बाँच्यौँ तर इमानदारी र निष्ठाका साथ बाँच्यौँ– निष्ठाको तात्पर्य यही हो । तेस्रो कुरा ऋषिले बताएका छन्– सर्वोच्चता प्राप्त गर्न आह्लादको प्रकाश आफैँभित्र पैदा गर्नुपर्छ । पहिलो दुई चिज छैन भने भित्र आह्लाद पनि हुन सक्दैन । यदि अन्धकारको, आलस्यको च्यादर ओढेको छ भने पनि केही हुन सक्दैन । यी दुवै चिज– इमानदारी र निष्ठाका लागि बडो ठूलो संघर्ष गर्नुपर्छ अनि मनमा आह्लाद हुनुपर्छ ।
मन त आलस्यतिर लाग्छ, यो जाने सुनेकै कुरा हो । ऋषि भन्छन्– म भन्छु, तपाईं भन्नुहुन्छ, यो किताबको कुरा हो । यसो भनेर यसलाई धारण नगर्ने हो भने सामान्य व्यक्तिबाट माथि उठ्न सकिँदैन । तपाईं समाजमा, देशमा  गौरवान्वित हुन सक्नुहुन्न । गौरवान्वित हुने अर्को बाटो छँदै छैन । लखपति बन्दैमा गौरवान्वित हुन सकिँदैन । किनभने तपाईंभन्दा अघि करोडौँ लखपति बनिसकेका छन् । सम्पन्नताबाट महानता बन्दैन । त्यसकारण: तस्मै मन: शिव संकल्पमस्तु ।
तपाईंको मनले पर्दा हटाउँछ भने मात्रै त्यो हट्छ । यस्तो बराबर गरियो भने अभ्यास हुन्छ । अनि त तपाईंमा काम गर्ने फुर्ति आउँछ, थकावट लाग्दैन । चौथो कुरा उनले भनेका छन्– आह्लादबाट प्रसन्नता र मधुरता पैदा हुन्छ । जसले आफैँलाई प्रसन्न राख्दछ, उसले वरिपरिका व्यक्तिलाई प्रसन्न राख्न सक्दछ । यो स्वयंममा सबभन्दा ठूलो दान हो । यसका अगाडि ज्ञानदान, लक्ष्मीदान वा अन्य चिज त ज्यादै नगन्य हुन् ।
पाँचौं चिज उनले बताएका छन् त्यो हो, गुरुको आज्ञा । बाटो देखाउन, सम्झाउन कोही न कोही त चाहियो । उनैलाई गुरु भनिन्छ । यदि गुरु छन् भने न तपाईंको बाटो पहिल्याइ दिन्छन् । उनले बताउनेछन्– बाँच्ने भए आह्लादसँग बाँच्ने नभए कसैको भरमा कुनै दुनियाँ टिकेको छैन । कोही मरेर जाँदैमा दुनियाँ रोकिँदैन । पाँच गुणका साथ बाँच्नुभएको छ भने तपाईं यो दुनियाँमा सर्वोच्चताका साथ हुनुहुन्छ । जीवनी पढ्ने हो भने ती व्यक्तिहरूमा आगो छ, तडप छ, बेचैनी छ, आह्लाद छ, अगाडि बढ्ने धुन छ, संघर्ष गर्ने क्षमता छ, आठ घन्टाको सट्टा बीस घन्टा काम गर्ने क्षमता छ । बर्टेन्ड रसेल बीस घन्टा काम गर्थे, आइन्स्टाइन बीस घन्टा काम गर्थे । राति आठ बजेसम्म पनि खान आएनन् भने उनकी पत्नी खाना लगेर प्रयोगशालाको टेबुलमुनि राखिदिन्थिन् । उनी काममा जुटिरहन्थे । बिहान हेर्न आउँदा पनि आइन्स्टाइनलाई काममै जुटिरहेकी देख्थिन् । सोध्थिन् तपाईंले खानुभएको छैन ? यही काम गर्ने क्षमता हो, यसै कारण उनी आइन्स्टाइन बने । जन्मन त सयकडौँ जन्मे सयकडौं मरेर  गए, आइन्स्टाइन किन बाँचिरहे, अरू किन मरेर गए । तपार्इंमा पनि त्यही क्षमता छ, जति आइन्स्टाइनमा थियो, सेक्सपियरमा थियो, रसेलमा थियो, मिल्टनमा थियो । त्यो प्रतिभा तपाईंले चिन्नुभएको छैन । यसका लागि पाँचवटा खुट्किला छन् त्यो बताइसकेँ ।
अनुवाद–शिव ढकाल
(मन्त्र–तन्त्र–यन्त्र विज्ञान पत्रिकाबाट)

प्रतिक्रिया