‘एमाओवादीले सर्वसत्तावाद लाद्न खोज्यो’

काठमाडैा, ६  साउन । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एमाओवादीले राजनीतिक दलबीच भएका सहमति कार्यान्वयन नगरेर सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाएका छन् ।
बिपी स्मृति दिवसको सन्दर्भमा कांग्रेस क्षेत्र नम्बर ४ ले शुक्रबार राजधानीमा गरेको वृक्षरोपण कार्यक्रममा सभापति कोइरालाले यस्तो आरोप लगाएका हुन् । विगतमा भएका सहमति उल्ट्याउने र कार्यान्वयन नगर्नेे प्रवृत्तिको अन्त्य नभएसम्म माओवादीसँग कुनै सहमति र सम्झौता नहुने कोइरालाले बताए । उनले माओवादीले १२ बुँदे समझदारीदेखि पछिल्लोपटकको राज्य पुन:संरचनासम्मका सहमतिमा आफूखुसी व्याख्या गरेको आरोप लगाए ।
माओवादीकै कारण १४ जेठमा संविधान जारी हुन नसकेको आरोप लगाउँदै उनले माओवादीको सहमति कार्यान्वयन नगर्ने प्रवृत्तिले आफैँलाई घातक हुने धारणा राखे । वर्तमान राजनीतिक संकटबाट देशलाई बचाउन प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने उनको भनाइ थियो । ‘देशलाई संकटबाट बचाउन सहमति चाहिन्छ,’ उनले भने, ‘प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सहमति जुट्दैन ।’
उनले मुलुकलाई निकास दिन र दलहरूबीच सहमति निर्माण गर्न प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उल्लेख गर्दै भने, ‘वर्तमान संकटबाट मुलुकलाई सही दिशा दिन कांग्रेसले मात्रै सक्नेछ ।’
शुक्रबार नै नेपाल महिला संघले पनि बिपी स्मृति दिवसको अवसरमा राजधानीमा अन्तरक्रिया आयोजना गरेको थियो । कार्यक्रमका सहभागी वक्ताले बिपी कोइरालाले लिएको मेलमिलापको नीति अहिले पनि संकट समाधानको अचुक उपाय भएको दाबी गरेका थिए । बिपी कोइरालाको ६ साउन ०३९ मा क्यान्सर रोगबाट निधन भएको थियो । उनको सम्झनामा कांग्रेसले शनिबार मुलुकभर विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ ।

प्रतिक्रिया