विद्यालयमै बाख्रापालन

सुर्खेत, ५ साउन । कुनाथरी–९ कुम्भिकोटका अभिभावकले छोराछोरी पढ्ने विद्यालयलाई एउटा बाख्रा दिएका छन् । विद्यालयलाई बाख्रा दिएपछि वर्षभरि अभिभावकले विद्यालयलाई कुनै शुल्क दिनु पर्दैन । विद्यालयले निम्न माध्यमिक तहसम्म नि:शुल्क पढाइ सुरु गरेलगत्तै आम्दानीका लागि नयाँ उपाय खोजेका हुन् । ‘विद्यालय चलाउनका लागि घरलौरी एउटा बाख्रा दिन अभिभावक सहमत भए,’ विद्यालयका प्रधानाध्यापक धर्मराज कार्कीले भने, ‘त्यसपछि विद्यालयमा कक्षाकोठासँगै बाख्राको खोर पनि गतिलो बनाउनुपर्‍यो ।’
विद्यालयमा ३१ वटा बाख्रा संकलन भएका छन् । घरमा बाख्रा नहुनेले विद्यालयलाई तीन हजार रुपियाँ दिएका छन् । त्यो पैसाले पनि बाख्रा किन्ने योजना बनाइएको प्रधानाध्यापक कार्कीले जानकारी दिए ।
विद्यालयको बाख्रा खोरको मध्यपश्चिमाञ्चल क्षेत्रीय पशु सेवा निर्देशनालयका निर्देशक अमर शाहले उद्घाटन गरे । उनले विद्यालयले बाख्रापालन गर्दा व्यावसायिक बाख्रापालन हुने र विद्यालयको आर्थिक समस्यासमेत समाधान हुने बताए । निजी स्रोतमा राखिएका शिक्षकलाई तलब दिन समस्या भएपछि वैकल्पिक स्रोतका रूपमा विद्यालयले बाख्रापालन सुरु गरेको हो । बाख्रा पालनका लागि कुनाथरी गाउँ विकास समितिले दुई लाख २३ हजार रुपियाँ सहयोग गरेको छ । ०३३ सालदेखि सञ्चालनमा आएको विद्यालय ०६६ देखि निमावि भएको हो । विद्यालयमा दुई सय विद्यार्थी अध्ययनरत छन् भने ९ कर्मचारी कार्यरत छन् । विद्यालयले चार शिक्षक निजी स्रोतबाट राखेको छ ।

प्रतिक्रिया