विना अनुमति सञ्चालित विद्यालय बन्द गरिने

इलाम, ३ साउन । जिल्ला शिक्षा कार्यालय इलामले अनुमति नलिई चलेका सबै विद्यालय र कक्षा चाँडै बन्द गराउने जानकारी दिएको छ ।
इलाममा १९ संस्थागत विद्यालय विना अनुमति चलेका छन् भने छ वटा विद्यालयले तल्लो कक्षाको अनुमति लिएर माथिल्लो कक्षा सञ्चालन गरिरहेको पाइृएको छ । विना अनुमति सञ्चालनमा रहेका विद्यालयहरुलाई प्रशासनको सहयोग लिएर भएपनि बन्द गराइछाड्ने शिक्षा कार्यालयको घोषणा गरेको छ ।
अघिल्लो वर्ष बन्द गराईएको विद्यालयले फेरी नाम परिवर्तन गरेर कक्षा सञ्चालन गरिरहेको पाईएको जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले बताए । ‘गत शैक्षिक सत्रमा बन्द गराईएका पाँच विद्यालयले नाम परिवर्तन गरेर सञ्चालन गरेको पाईएको छ’ जिशिअ पुरीले भने ।
कन्यामको गोल्डेन फ्लावरले अहिले रनर बोर्डिङ्ग स्कूल नाम राखेर कक्षा ५ सम्मको कक्षा सञ्चालन गरिरहेको छ । त्यस्तै कन्यामको सिद्धार्थ बोर्डिङ्गले हाल कार्नेशन, फिक्कलको सुन्दरपानी बोर्डिङ्गले होलिएन्जल, श्रीअन्तुको श्रीअन्तु बोर्डर छेउले सृजना र लक्ष्मीपुरको सगरमाथा बोर्डिङ्गले सरस्वती विद्या सदन नाम दिएर क्रमश कक्षा १, ४, ३ र १ सञ्चालन गरिएको पाईएको जिशिअ पुरीले जानकारी दिए ।
जिल्लाका अन्य नौ संस्थागत विद्यालय अघिल्लो वर्षदेखिको कार्यालयको निर्देशनलाई अटेर गरेर दर्ता नै नगरी सञ्चालन गरिरहेका छन्  । यसरी दर्ता नै नगरी सञ्चालनमा रहेका विद्यालयहरुमा लिटिलस्टार बोर्डिङ्ग स्कूल महमाई, चिल्ड्ेरन गार्डेन बोर्डिङ्ग दानाबारी, नमुना प्रगति बोर्डिङ्ग बाँझो, न्यु नमुना बोर्डिङ्ग फिक्कल, सिद्धिभ्याली बोर्डिङ्ग स्कूल कन्याम रहेका छन् । त्यसैगरी इलाम मोडेल एकेडेमी सुम्बेक, सनस्टार बोर्डिङ्ग एकतप्पा, ग्रीन हेरिटेज बोर्डिङ्ग फाफोक र नयाँबजार प्रेमजुङ्ग बोर्डिङ्ग स्कूल नयाँबजारले पनि विना दर्ता कक्षा सञ्चालन गरिरहेको छ ।
त्यसैगरी तल्लो कक्षाको अनुमति लिएर माथिल्लो कक्षा सञ्चालन गर्ने विभिन्न छ वटा विद्यालयलाई समेत तत्काल नियमन गराउन कार्यालयले निर्देशन दिएको छ । कार्यालयले महमाईस्थित मेची बोर्डिङ र माईभ्याली बोर्डिङ, पशुपतिनगर स्थित उर्गेन छोलिङ्ग गुम्बा, धुसेनीस्थित नमुना विद्यालय र कोल्बुङ्गस्थित गोल्डेन हिभेन एकेडेमी र सिद्धदेवी अनुमति प्राप्त तहसम्म मात्र सञ्चालन गर्न निर्देशन दिएको हो ।
‘अनुमतिभन्दा माथिल्लो कक्षा सञ्चालन गर्ने विद्यालयलाई अनुमतिप्राप्त तहसम्म मात्र सञ्चालन गर्न भनेका छौँ, जिशिअ पुरी भने, ‘अटेर गरी अनुमतिभन्दा माथिल्लो कक्षा सञ्चालन गरेमा दिईएको अनुमति समेत रद्द गरिनेछ ।’ समेत जानकारी दिए ।
त्यस्तै पाँच वटा विद्यालय यो वर्ष मात्रै विनाअनुमति खुलेको पाईएको कार्यालयको अनुगमन प्रतिवेदनमा उल्लेख छ । यसवर्ष विना अनुमति खोलिएका विद्यालयमा ओरियन्टल बोर्डिङ्ग स्कूल सोयाङ्ग, विप्लव बोर्डिङ्ग आमचोक, चमैता अंग्रेजी प्रतिष्ठान चमैता, योञ्जन न्यु लाईट बोर्डिङ्ग  नामसालिङ्ग र न्युलाईट एकेडेमी माईमझुवा रहेका छन् ।
कार्यालयले ती विद्यालयहरुलाई बन्द गर्न पत्राचार गरिसकेको जनाएको छ । विद्यालय बन्द नगरे त्यस्ता विद्याललाई स्थानीय प्रशासनको सहयोगमा बन्द गराउने जिशिअ पुरीले बताए । ‘ती विद्यालयहरुलाई यसअघि पटक–पटक बन्द गर्न ताकेता गरयौं टेरेनन्’ जिशिअ पुरीले भने, ‘अब आफै बन्द गर्न पत्राचार गर्दा पनि अटेर गरे प्रशासनको सहयोग लिएर भएपनि बन्द गराईछाड्छौं ।’ अहिले विद्यालय वर्षे विदामा भएकाले खुल्नसाथ बन्द गराएको सूचना टाँस गर्न प्रशासन र सञ्चाकर्मी सहितको कार्यालयको टोलि ती विद्यालयमै जाने जिशिकाले जनाएको छ ।
शैक्षिक सत्रको तीन महिना वितिसक्दा पनि अवैध विद्यालय बन्द गराउन सकेको छैन । ढिलो भएपनि त्यस्ता विद्यालय बन्द गराउने र त्यहाँ अध्ययनरत विद्यार्थीलाई नजिकैको विद्यालयमा भर्ना लिने व्यवस्था मिलाउने कार्यालयले जनाएको छ ।
अघिल्लो वर्ष जिल्लाका ७१ विद्यालय नियमविपरीत सञ्चालन गरेको पाईको थियो । तीमध्ये केहीले नियम पूरा गरेको र ५४ वटालाई सूचना टाँस गरी बन्द गराईएको कार्यालयका उपसचिव गेहेन्द्र दाहालले बताए । शिक्षा ऐन र नियमावलीमा शैक्षिक सत्र सुरु हुनुभन्दा अघि नै अनुमति लिनुपर्ने र एक शैक्षिक सत्रमा एउटा कक्षामा अनुमति पाउने व्यवस्था छ ।
कार्यालयले पत्राचार र सञ्चारमाध्यममार्फत सार्वजनिक सूचना जारी गरेर अनुमति नलिएका कक्षा र विद्यालय बन्द गर्न आग्रह गरेको थियो । ‘हामीले नियमवीपरीतका विद्यालयलाई बन्द गर्न पटकपटक सूचना जारी गरेपनि अटेर गरेकाले  कारवाही गरेरै छाड्छौं’ जिशिअ पुरीले भने, ‘यसमा सबै क्षेत्रको सहयोग मिल्छ भन्ने विश्वास छ, नत्र ऐन र नियमावली थन्क्याएर बसे भइहाल्यो नि ।’
शिक्षा समितिको मंगलबार बसेको बैठकले पनि नियम मिचेर चलेका विद्यालयहरुलाई बन्द गर्नुपर्ने निर्णय गरेको छ । संस्थागत विद्यालय, शिक्षक र विद्यार्थीहरुको संगठनहरुले पनि विद्यार्थीको भविष्य अन्योल पार्ने अवैध स्कुल बन्द गरिनुपर्ने धारण राखेका छन् ।

प्रतिक्रिया