६ रिक्साचालक पक्राउ


हेटौंडा, ३ साउन । भैंसे–२ कालिटारमा बिहीबार भएको आमाछोरीको हत्यामा रिक्साचालकहरू संलग्न रहेको पाइएको छ । हत्यामा संलग्न ६ रिक्साचालकलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ ।
धादिङ जीवनपुर–८ का २५ वर्षीय विष्णु तामाङ, २४ वर्षीय सानोकान्छा तामाङ, २२ वर्षीय सञ्जीव लामा, १७ वर्षीय सुदीप लामा,  काठमाडौं कीर्तिपुरका २७ वर्षीय राजु श्रेष्ठ र मकवानपुर बसामाडीका ३० वर्षीय मोहन ब्लोनलाई प्रहरीले सार्वजनिक गरेको हो । ब्लोनबाहेक पाँचजनालाई प्रहरीले हेटौंडा–५ स्थित चिसापानीको एउटा घरबाट पक्राउ गरेको हो । पाँचै जना एकै कोठामा बस्दै आएका थिए ।
घटनामा संलग्न धादिङका गोपाल लामा र मकवानपुर हाँडिखोलाका पासाङ घिसिङ फरार रहेको एसपी पूर्णचन्द्र जोशीले जानकारी दिए ।
चन्द्रमाया थापा र लक्ष्मी थापाको हत्या गरी लुटपाट गरेको तीन दिनपछि प्रहरीले आरोपितलाई सार्वजनिक गरेको हो । पक्राउ परेकामध्येबाट प्रहरीले ९० हजार रुपियाँ, ६ थान मोबाइल सेट बरामद गरेको छ । पक्राउ परेकाले लुटपाट गर्न जाँदा अवरोध सिर्जना भएकाले हत्या गर्नुपरेको बयान दिएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा फेला परेको ह्याक्सो ब्लेडका आधारमा अपराधी पहिचानका लागि तालिमप्राप्त कुकुर परिचालन गरे पनि पानी परेका कारण अपराधी गएको स्थान पत्ता लगाउन प्रहरी असफल भएको थियो । लुटेर लगिएको मृतक चन्द्रमायाको मोबाइलमा प्रयोग भएको सीम र चुनियाँ टावरको कल डिटेलको आधारमा अनुसन्धान गर्दा अपराधी पहिचान गर्न सफल भएको एसपी जोशीले जानकारी दिए ।
पक्राउ परेकाले बयानका क्रममा बिहीबार अघि पनि लुटपाट गर्न खोजेको तर असफल भएको बताए । केही दिनअघि डकैती गर्न जाँदाजाँदै रक्सीले बढी मातेका कारण फर्किएर आएको र पुन: प्रयास गरेको पक्राउ परेकालाई उद्धृत गर्नै एसपी
जोशीले बताए ।
हेटौंडा चौकीटोलमा रिक्सा रोकेर आठजना म्याजिक चढेर घटनास्थल भन्दा माथिको जंगलमा ओर्लिएर डकैती गर्न राति साढे नौ बजेपछि घरमा आइपुगेको अनुसन्धानमा खुलेको छ । बार्दलीमा बलिरहेको बत्ति झिकेर लक्ष्मीको हातखुट्टा बाँधेर मुख थुन्दा आमाले थाहा पाएपछि दुवैको हत्या गरेको बयान उनीहरूले दिएको प्रहरी अनुसन्धान रिपोर्टमा उल्लेख छ ।
उनीहरूले घरमा रहेको पसलको जुस, चुरोट, कोक लिएर भैंसे पुलसम्म हिँडेर आएपछि ट्रक चढेर हेटौंडाको तिरतिरे धारामा ओर्लिएको बयान दिएका छन् । डकैती गरिएको सुन र गहना राखिदिने राजु श्रेष्ठ र सानुकान्छा तामाङकी पत्नीलाई पनि प्रहरीले बिहीबार पक्राउ गरे पनि सार्वजनिक गरिसकेको छैन ।

प्रतिक्रिया