सदरमुकाम आउन भारतीय रेलको प्रयोग

वीरगन्ज, ३  साउन । वर्षाका कारण ग्रामीण भेगको यातायात बन्द भएपछि पर्साका विभिन्न गाविसका बासिन्दा सदरमुकाम वीरगन्ज आउन भारतीय भूमिको प्रयोग गर्न बाध्य भएका छन् । वर्षातपछि एक दर्जनभन्दा बढी गाविसको सदरमुकाम वीरगन्जसँग सम्पर्क टुटेको छ ।
पाँच दिनदेखि सदरमुकाम वीरगन्जबाट ग्रामीण भेगमा चल्ने सार्वजनिक यातायातका सवारी साधन नचलेपछि सम्पर्क टुटेको हो । ठाउँठाउँमा रहेका खहरे खोलामा पुल नभएका कारण र ग्रामीण भेगका सडक वर्षाका कारण हिलाम्मे भएपछि यात्रुबाहक बस गाउँ पुग्न सकेका छैनन् ।
लंगडी, भिस्वा, हरिहरपुर,  धोबिनी, तुलसीबर्वा, मिर्जापुर, सम्भौता, जयमंगलापुर, सबैठवा, लहवार थकरी, भेडियारी, बिरन्चीबर्वा, मुडली, सुर्वणपुर, निर्मलवस्ती, ठोरीलगायतका गाविसमा यातायात सेवा बन्द भएको हो ।
वीरगन्जबाट ठोरी निर्मलवस्ती रुटमा चल्ने यात्रुबाहक बस सुवर्णपुरसम्म पुग्ने गरेको छ । यातायात सेवाअवरुद्ध भएपछि ठोरी निर्मलबस्तीका स्थानीय भारतीय रेलमार्ग हुँदै सदरमुकाम वीरगञ्ज आउन बाध्य छन् । अतिआवश्यक कामका लागि भारतीय रेलमार्गको प्रयोग गर्नुपरेको ठोरीका स्थानीयले बताए ।
‘आफ्नै सदरमुकाम पुग्न भारतीय रेलको सहारा लिनुपर्ने बाध्यता छ,’ ठोरीका रामप्रकाश कुँवारले भने, ‘बिरामी भए उपचार गर्न पनि भारतीय बजारमै जानुपर्छ ।’ वर्षाका समयमा यातायात सेवा ठप्प भएपछि ठोरी र निर्मलवस्तीका नागरिक सीमावर्ती भिखनाठोरीबाट रेल चढेर नरकटियागन्ज, रक्सौल हुँदै वीरगन्ज आउने गर्छन् ।
‘बस चल्दा बिहान गएर बेलुकी फर्किन भ्याइन्थ्यो,’ ठोरीका गणेश बोहोराले भने, ‘रेल चढेर जानुपर्दा दुईदिन लाग्छ ।’ बाटो जीर्ण भएकाले मोटरसाइकलमा पनि हिँड्न सक्ने अवस्था नभएको स्थानीय शिक्षक प्रेम लामाले बताए । ‘सदरमुकाम पुग्न भारतीय रेलबाहेक विकल्प छैन,’ उनले भने, ‘बाटोको अवस्था नाजुक भएकाले बिरामीलाइ पनि उपचारका लागि भारतीय बजारमै लैजानु पर्ने बाध्यता छ ।’
हिउँदमा वीरगन्जबाट निर्मलवस्ती ठोरी रुटमा दैनिक चार यात्रुबाहक बस सञ्चालनमा छन् । निर्मलवस्ती ठोरी जोड्ने सडकमा आधा दर्जन खोला छन् तर तिनमा पुल हालिएको छैन । वीरगन्जबाट भिस्वा जयमंगलापुर रुटमा चल्ने यात्रुबाहक बस पनि गत बिहीबारदेखि ठप्प छ । बस नचल्दा भिस्वा, हरिहरपुर, धोबिनी, तुलसीबर्वा,  मिर्जापुर, सम्भौता र जयमंगलापुरका नागरिकलाई सास्ती भएको छ । वीरगन्जबाट भिस्वा जयमंगलापुर रुटमा दैनिक छ यात्रुबाहक बस चल्ने गरेका थिए । हरिहरपुर र मिर्जापुरका बीचमा पर्ने ओरिया खोलमा पुल नभएका कारण वीरगन्जबाट गएका बस लंगडीमै रोकिने गरेका छन् ।
बस सेवा ठप्प भएपछि त्यस भेगका नागरिक सदरमुकाम वीरगन्ज आउन भारतीय रेल नै प्रयोग गरिरहेका छन् । उनीहरू सीमावर्ती सिक्टा, भेलाही  र कंगलीमा पुगेर रेल चढेर रक्सौल हुँदै वीरगन्ज आउने गरेका छन् । ठाउँठाउँमा सडक हिलाम्मे भएका कारण एम्बुलेन्स सेवाबाट पनि स्थानीय बन्चित भएका छन् । बिरामी ओसार्न ग्रामीण क्षेत्रमा जाने एम्बुलेन्स सडकको खाल्डोमा भास्सिन थालेपछि आकस्मिक उद्धारमा समेत समस्या आएको छ ।
ग्रामीण भेगमा प्रत्येक वर्ष बर्षातका समयमा यातायात सेवाअवरुद्ध हुनेगरे पनि समस्या सामाधानका लागि पहल भएको छैन । सडक मर्मतका लागि जिविसबाट बजेट निकासा हुँदै आए पनि ठेकेदार र उपभोक्ता समितिका पदाधिकारीको मिलोमतोमा दुरूपयोग गरिएकाले वर्षायाममा यातायात सेवा बन्द हुने गरेको स्थानीयको आरोप छ  ।

प्रतिक्रिया