डोटीमा झाडापखालाले थप दुईको मृत्यु

कैलाली, २ साउन । डोटीमा गत जेठ महिनाको अन्तिम साता देखि फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन  सकेको छैन ।
झाडापखालाका कारण मंगलबार थप दुई जनाको मृत्यु भएको छ । झाडापखाला भएपछि उपचारका लागि अस्पताल लैजांदै गर्दा काडामाण्डौं गाविस ३ का ७० वर्षीया बृद्धा शारदा साउँद र सानागाउँ गाविस २ वर्षीय बालक सुरेश भुलको बाटोमै मृत्यु भएको हो ।
जिल्लामा छिटपुट रुपमा झाडापखाला फैलिएको पाँच हप्ता भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । मंगलबार साउँद र भुलको मृत्यु भएपछि डोटीमा झाडापखालाले मर्नेको संख्या सात पुगेको छ ।
त्यस्तै डोटीको बगलेक गाविस ६ र ७ मा हैजाको जीवाणु देखा परेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । इडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाण्डौंले गरेको दिसा परीक्षण पछि दिएको रिपोर्ट अनुसार उक्त गाविसका ती वडामा हैजाका जीवाणु भेट्टिएको पुष्टी भएको स्वास्थ्य कार्यालयका मलेरिया सम्बन्धी अनुगमन तथा मुल्यांकन अधिकृत टेकराज ओझाले बताए ।
उनले आठ जना झाडापखालाका बिरामीको दिसा र पानीको नमुना पठाइएकोमा इडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पाँचजनामा हैजाको जीवाणु रहेको पुष्टि भएको बताए । हैजाका जीवाणु भेट्टिएको सो गाउँमा तीनजनाको झाडापखाला कै कारण मृत्यु भइसकेको छ ।
जिल्लामा फैलिएको झाडापखाला नियन्त्रण गर्न पखाला प्रभावित क्षेत्रमा आवश्यक पर्ने औषधी पठाएको र झाडापखालाबाट बच्न जनचेताना मुलक कार्यक्रम गर्ने गरेको निमित्त स्वास्थ्य कार्यालय प्रमुख गौरी शाहीले बताइन् । साथै उनले झाडापखाला फैलिनुमा पानी नै प्रमुख कारण रहेकावताइएको छ  ।
गत २०६६ सालमा फैलिएको झाडापखाला नियन्त्रणको लागि समयमै ध्यान नदिादा डोटीमा १२ जनाको मृत्यु भएको थियो । यसपटक गत जेठ अन्तिम साताबाट फैलिएको झाडापखाला नियन्त्रणमा लिन सरोकारवाला निकायले खासै ध्यान नदिएकोले महामारीको रुपमा फैलिन सक्ने सम्भावना रहेको नागरिक समाजका अगुवा नरेन्द्र खड्काले बताए ।

प्रतिक्रिया