काठमाडौं, २ साउन । सडक विस्तारसँगै उपत्यकामा दुर्घटना घटेको छ । उपत्यकाका साँघुरा सडक विस्तार अभियानसँगै सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १५ प्रतिशतले कमी आएको हो । उपत्यका नगर विकास समिति नेतृत्वमा गत मंसिरदेखि उपत्यकामा सडक विस्तार सुरु भएको थियो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सडक दुर्घटनामा गत वर्ष मृत्यु हुनेको संख्या एक सय ७१ थियो । यो वर्ष एक सय ४८ मा झरेको छ । विगतका वर्षभन्दा सडक दुर्घटनामा गम्भीर घाइते हुनेको संख्यामा पनि कमी आएको छ । महाशाखाको तथ्यांकअनुसार गएको वर्ष पाँच सय ५३ जना गम्भीर घाइते भएका थिए । संख्या घटेर यो वर्ष तीन सय ९६ मा झरेको छ । गएको वर्षका तुलनामा यो संख्या ३९.५ प्रतिशतले कम हो । महाशाखाको तथ्यांकले दुर्घटनामा समान्य घाइते हुनेको संख्या कम भएको देखाएको छ । तथ्यांकअनुसार गएको वर्ष तीन हजार छ सय ३२ जना घाइते भएका थिए, यो वर्ष तीन हजार तीन सय १७ जना मात्रै घाइते भए । गएको वर्ष भन्दा ९.४ प्रतिशतले घाइते हुनेको संख्यामा कमी आएको हो ।
महाशाखाका प्रमुख डिआइजी गणेशराज राईले दुर्घटनाको संख्या नाटकीय रूपमा घट्नुमा सडक विस्तार प्रमुख कारण रहेको जानकारी दिए । ‘सडक विस्तार भएपछि तुलनात्मक रूपमा सवारी साधन आवागम सहज भयो, जसले दुर्घटना रोकियो,’ उनको भनाइ छ । उनका अनुसार सर्वसाधारणले दैनिकजसो भोग्ने गरेको ट्राफिक जामको समस्या पनि सडक विस्तारसँगै कमी आएको छ ।
दुर्घटनामा मृत्यु हुनेको संख्या घट्नुमा ट्राफिक प्रहरीले चालेको विभिन्न अभियान पनि प्रमुख कारक हो । महाशाखाले मंसिरबाटै ‘मादक पदार्थ सेवन’ अभियान सुरु गर्यो । यसले गर्दा पनि दुर्घटनाको संख्यामा कमी आएको महाशाखा प्रमुख डिआइजी राईको भनाइ छ । ‘मापसे’ सँगै प्रहरीले सिट बेल्ट, आकासे पुल, ओभर टेल, लेन ब्रेक, बिना हेल्मेट, मोबायल प्रयोग, ओभर स्पिडजस्ता अभियान चलाएपछि दुर्घटना कम भएको डिआइजी राईले बताए ।
नगर विकास समितिको नेतृत्वमा काठमाडांैमा मात्रै २९ स्थानमा सडक विस्तार भइसकेको छ । तथ्यांकअनुसार काठमाडौंम मात्रै २६ दशमलव ९९ किलोमिटर सडक विस्तार भइसकेको छ । ललितपुरका विभिन्न चारस्थान गरी आठ दशमलव १० किलोमिटर सडक विस्तार भइसको छ । काठमाडांैमा अझै १७ स्थानमा सडक विस्तारको कार्य भइरहेको छ, । ललितपुरका तीन स्थानमा २ दशमलव ६० किलोमिटर सडक विस्तार हुने क्रममा छन् । बनिसकेको र बन्ने क्रममा रहेका सडक निर्माण कार्य पूरा भए उपत्यकामा भित्री भागमा मात्रै ६३ दशमलव ९९ किलोमिटर सडक चौडा हुनेछ ।
प्रतिक्रिया