राष्ट्रिय सहमतिबिना संविधान असम्भव

काठमाडौ, असार ३१ । काँग्रेसका शीर्ष नेताहरूले राजनीतिक र संवैधानिक संकट निकासका लागि वर्तमान प्रधानमन्त्रीले राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार गठनका लागि बाटो खुल्ला गर्नुपर्नेमा पुनः जोड दिएका छन् । राष्ट्रिय सहमतिबिना संविधान पनि बन्न नसक्ने र चुनाव पनि हुन नसक्ने भन्दै काँग्रेसका नेताहरूले अहिलेको राजनीतिक र संवैधानिक सङ्कट निकासको मार्गचित्र अघि सारेर सरकारको नेतृत्व लिन काँग्रेस तयार हुनुपर्नेमा जोड दिए ।

नेपाली काँग्रेस नीति तथा प्रशिक्षण प्रतिष्ठानको सहयोगमा नेपाल महिला सङ्घद्वारा आइतबार देखि देखि राजधानीमा सुरु गरिएको चारदिने महिला नेतृत्व विकास प्रशिक्षक प्रशिक्षणमा बोल्दै सभापति सुशील कोइरालाले सहमतिलाई बेवास्ता गरेर गरिएको चुनाव घोषणाले संवैधानिक र राजनीतिक सङ्कट निम्ताएको बताए ।

उनले कानुनी अड्चनका कारण पनि चुनाव असम्भव रहेको उललेख गर्दै भने, ‘माओवादीले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा विश्वास गुमाउँदै गएको र आफैँले धोका खाएको बताउँदै काँग्रेसले सङ्कटलाई निकास दिन सहमति र छलफलको क्रम अघि बढाएको छ  ।’‘संविधानको संरक्षकको हिसाबले एकलौटी चुनाव घोषणाविरुद्ध राष्ट्रपतिलाई ज्ञापनपत्र दिएका छौँ, जनमत सिर्जना गर्न सडक सङ्घर्ष चलाएका छौँ र सहमतिका लागि वार्ता पनि थालेका छौँ, सभापति कोइरालाले भने ।यस्तै  वरिष्ठ नेता शेरबहादुर देउवाले सहमति नभई संविधानसभाको चुनाव र संविधान पनि बन्न नसक्ने बताए  । उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री बावुराम भट्टराईको नेतृत्व असफल भइसकेकोले अब राज्यले नयाँ नेतृत्व पाउनुपर्छ भन्दै सबै दल मिलेर परिवर्तन ल्याउनु पर्ने उल्लेखद गरे ।

यसैगरी कार्यक्रममा बोल्दै महामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्रीले राजीनामा दिएपछि सबैको सहमतिमा नेतृत्व लिन काँग्रेसले खुट्टा नकमाउने बताए  । अर्का महामन्त्री कृष्ण सिटौलाले संवैधानिक र राजनीतिक सङ्कट ल्याउने सरकार हटाएर नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनाएर मुलुकलाई निकास दिनुपर्छ भने  ।केन्द्रीय सदस्य सुजाता कोइरालाले अहिले पार्टी अलमलिएको र स्पष्ट दृष्टिकोण दिन नसकेको गुनासो बढेको बताउँदै महिलालाई पार्टीभित्र, राज्यका निकाय र सभामा उच्चस्थान दिन कञ्जुस्याइँ गर्न नहुनेमा जोड दिइन्  । रासस

प्रतिक्रिया