संस्थानको प्रगति निराशाजनक


काठमाडौं, ३१ असार । सरकारले आºनो स्वामित्वमा सञ्चालित ३७ वटा सार्वजनिक संस्थानको प्रगति समीक्षा सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक गरिएको समीक्षात्मक विवरणमा ती संस्थाका छुट्टाछुट्टै भौतिक एवं वित्तीय प्रगतिका विषय समावेश गरिएको छ ।
त्यसैगरी, सरकारको आंशिक स्वामित्वमा सञ्चालित २७ वटा संस्थान/कम्पनीको सेयर संरचना र भौतिक एवं वित्तीय विवरण पनि त्यसमा समावेश गरिएको छ ।
राष्ट्रिय समाचार समितिका अनुसार आयमूलक कार्यमा संलग्न सरकारी स्वामित्वका ११ वटा विकास समितिको प्रगति विवरण र विशेष ऐनद्वारा स्थापित कर्मचारी सञ्चयकोषको भौतिक एवं वित्तीय अवस्थाको चित्रणसमेत प्रगति समीक्षामा गरिएको छ ।
समीक्षा विवरणअनुसार सरकारी स्वामित्वमा सञ्चालित ३७ वटा सार्वजनिक संस्थानको कुल सञ्चालन आय आर्थिक वर्ष ०६६/६७ मा एक खर्ब ३० अर्ब ९८ करोड ३२ लाख भएकामा आर्थिक वर्ष ०६७/६८ मा १५.९३ प्रतिशतले वृद्धि भई एक खर्ब ५१ अर्ब ८५ करोड ४४ लाख पुगेको छ ।
आर्थिक वर्ष ०६७/६८ मा २१ वटा सार्वजनिक संस्थान नाफामा छन् भने १४ वटा संस्थान घाटामा सञ्चालित छन् । नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी सेवा केन्द्र  र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडको कारोबार नभएको जनाइएको छ ।
सैतीस सार्वजनिक संस्थानको आर्थिक वर्ष ०६६/६७ मा १० अर्ब ५५ करोड ८६ लाख खुद नाफा रहेकामा ०६७/६८ मा खुद नाफा छ अर्ब ६७ करोड ६५ लाख पुगेको छ ।
गत सालभन्दा खुद नाफा घट्नुमा नेपाल विद्युत् प्राधिकरणको ६ अर्ब नौ करोड र नेपाल आयल निगमको पाँच अर्ब ११ करोड नोक्सान हुनु नै मुख्य कारण रहेको समीक्षामा उल्लेख छ ।आव ०६७/६८ सम्म ३७ वटा सार्वजनिक संस्थानमा सरकारको सेयर लगानी रु ९२ अर्ब १९ करोड १६ लाख रहेको, कुल ऋण लगानी रु ९५ अर्ब १६ करोड ९२ लाख पुगेको तथा गत वर्ष ती संस्थानमा सेयर लगानी रु ८२ अर्ब ७५ करोड ७२ लाख र ऋण लगानी रु ८४ अर्ब ९१ करोड ६३ लाख रहेको थियो ।
आव ०६७/६८ मा ३७ वटा सार्वजनिक संस्थानको कुल सेयरधनी कोष रु एक खर्ब ९९ करोड तीन लाख रहेको छ । यो रकम गत वर्षको भन्दा २६ दशमलव ३७ प्रतिशतले बढी हो ।
गत वर्ष ३७ वटा संस्थानको खुद स्थिर सम्पत्ति रु १३९ अर्ब ३६ करोड रहेकामा यस आर्थिक वर्षमा घट्न गई रु ११८ अर्ब २७ करोड ६५ लाख पुगेको तथा यस वर्ष सेवा र जनोपयोगी क्षेत्रले खुद स्थिर सम्पत्ति घटाएका कारणले समग्रमा खुद स्थिर सम्पत्ति गत सालभन्दा घट्न गएको हो ।
सरकारलाई आव ०६६/६७ मा रु चार अर्ब ८० करोड ४९ लाख लाभांश प्राप्त भएकामा यस वर्ष आव ०६७/६८ मा रु पाँच अर्ब ४९ करोड ७२ लाख प्राप्त भएको छ । यो सरकारी लगानीको पाँच दशमलव ९६ प्रतिशत हुन आउँछ ।
गत वर्षको दाँजोमा लाभांशको अंकमा वृद्धि भएको देखिए तापनि यसमा नेपाल दूर सञ्चार कम्पनीको मात्रै एक्लो योगदान रहेको देखिन्छ ।
त्यसैगरी, आर्थिक वर्ष ०६७/६८ मा संकलित कुल राजस्व रु एक खर्ब ९९ अर्ब ८२ करोडमा ३७ वटा सार्वजनिक संस्थानहरूबाट प्राप्त लाभांशको अंश २ दशमलव ७५ प्रतिशत रहेको छ । संस्थानमा सरकारले गरेको लगानीको अनुपातमा सरकारलाई प्राप्त प्रतिफल अर्थात् लाभांश ५ दशमलव ९६ प्रतिशतमात्र देखिन्छ ।
आव ०६७/६८ को खुद गार्हस्थ उत्पादन रु १३ खर्ब ६९ अर्ब ४३ करोड रहेकामा सार्वजनिक संस्थानको कुल सञ्चालन आयको योगदान ११ दशमलव ९ प्रतिशत रहेको छ ।
सार्वजनिक संस्थानमध्ये सबैभन्दा बढी व्यापारिक क्षेत्रको सञ्चालन आय कुल गार्हस्थ उत्पादनको ५ दशमलव ५८ प्रतिशत छ भने सबैभन्दा न्यून अंश सामाजिक क्षेत्रको रहेको छ, जुन शून्य दशमलव ९ प्रतिशत रहेको छ । समितिका अनुसार सरकारले सार्वजनिक संस्थानहरूमा आव ०६७/६८ मा प्रवाह गरेको ऋण (रु १० अर्ब ७० करोड) को हिस्सा यसै वर्ष ०६७/६८ को कुल सरकारी खर्च रु दुई खर्ब ९५ अर्ब ३६ करोडमा ३ दशमलव ६२ प्रतिशत रहेको छ भने यस आवमा पुँजीगत खर्च रु एक खर्ब सात अर्ब ८५ करोडमा सार्वजनिक संस्थानहरूमा प्रवाह भएको ऋणको हिस्सा ९ दशमलव ९२ प्रतिशत रहेको राससले जनाएको छ ।
सार्वजनिक संस्थानहरूको प्रतिस्पर्धा तथा व्यावसायिकता अभिवृद्धि गर्दै समन्वयात्मक ढंगबाट सञ्चालन गर्ने उद्देश्यले सरकारले गतवर्ष सार्वजनिक संस्थान निर्देशन बोर्ड
(गठन तथा कार्य सञ्चालन) आदेश, ०६८ जारी  गरेको थियो । सरकारको निर्णयनुसार बोर्डले कार्यसञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया