एक सातामा साधारणसभा गर्न निर्देशन

काठमाडौं, २९ असार । कम्पनी रजिस्ट्रारको कार्यालयले नेसनल हाइड्रोपावर कम्पनीलाई सात दिनभित्र साधारणसभा सम्पन्न गर्न निर्देशन दिएको छ । कम्पनीले विगत दुई आर्थिक वर्षको १४औँ र १५औंँ साधारणसभा गरेको छैन ।

यसअघि नेपाल धितोपत्र बोर्डले जेठ २५ मा १४औँ साधारणसभा र त्यसको ६० दिनपछि १५औँ साधारणसभा गर्न निर्देशन दिएको थियो । कम्पनीले २५ जेठमा १४औँ साधारणसभा बोलाए पनि खर्च कटौतीको कारण देखाई सो सभा स्थगित गरी १७ असारमा १४ र १५औँ साधारणसभा एकै दिन गर्ने गरी सूचना प्रकाशित गरेको थियो ।
त्यसदिन पनि सेयर लगानीकर्ताबीचको प्रोक्सी विवादका कारण साधारण सभा हुन सकेन । कम्पनी संस्थापकले सेयरधनीको कोरम नपुगेका कारण साधारणसभा स्थगित गरेको बताए पनि सेयर लगानीकर्ता प्रकाश रजौरेले प्रोक्सी दर्ता नै गर्न नदिएका कारण स्थगित भएको बताए । उनका अनुसार एनबी समूहका सेयरधनी उपस्थित भए पनि हस्ताक्षर नगरी कोरम नपुगेको बताएर साधारणसभा स्थगित गरेको हो । १७ असारमा साधारणसभा हुन नसकेपछि सेयरधनीहरू दीपक कार्की र प्रकाश रजौरेले गत २० असारमा कम्पनी रजिस्ट्रारको कार्यालयमा रोकिएको साधारणसभा गराउन निवेदन दिएका थिए । रजिस्ट्रारको कार्यालयले कम्पनी ऐन २०६३ को दफा ६७ (२) को प्रतिबन्धात्मक वाक्यांश तथा कम्पनीको नियमावलीको नियम १५ को खण्ड (ग) अनुसार सात दिनभित्र साधारणसभा गर्न निर्देशन दिएको हो ।
एक अर्ब ३९ करोड चुक्ता पुँजी रहेको कम्पनीमा एनबी समूहको २० प्रतिशत संस्थापक लगानी छ । बाँकी ८० प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व छ ।
गत २५ जेठमा साधारणसभा बोलाउने निर्णय गरेपछि कम्पनीको सेयर मूल्य र कारोबार रकम बढेको थियो । साधारणसभाका लागि भन्दै ५ देखि २५ जेठसम्म सेयर कारोबार बन्द भएको थियो । वार्षिक साधारणसभाले नयाँ सञ्चालक समितिको समेत चयन गर्ने हुँदा आफ्ना पक्षका सञ्चालक कोही नआउने देखेर व्यवस्थापनले साधारणसभा स्थगित गराएको नेसनल हाइड्रो पीडित सेयरधनी समूहका एक रजौरेले बताए । ‘कानुनविपरीत कम्पनीले सर्वसाधारण सेयरधनीको रकम डुबाउन साधारणसभा बोलाएको छैन,’ उनले भने, ‘कम्पनीको व्यवस्थापन साधारणसभा गर्ने मनस्थितिमा देखिएको छैन ।’
नेसनल हाइड्रोपावर कम्पनीको वित्तीय पारदर्शिता हुन नसकेपछि साधारण सेयरधनी र संस्थापकबीच विवाद बढ्दै गएको छ । संस्थापकका रूपमा रहेको एनबी समूहले कागजी लिखत बनाई सर्वसाधारणको पैसा हिनामिना गरेको लगानीकर्ताको आरोप छ ।

प्रतिक्रिया