राष्ट्रपतिलाई आंशिक बजेट स्विकार्न अनुरोध

काठमाडौं, २९ असार । राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच बजेटका विषयमा बिहीबार राति भेटवार्ता भएको छ । प्रमुख राजनीतिक दलहरू एक तृतीयांश बजेट ल्याउन सहमत भए पनि त्यसप्रति असन्तुष्ट रहेका प्रधानमन्त्री डा. भट्टराईले राष्ट्रपति यादवलाई आंशिक बजेट ल्याउने प्रस्ताव गरेका थिए ।

अर्थमन्त्री वर्षमान पुन, अर्थसचिव कृष्णहरि बाँस्कोटासहित प्रधानमन्त्री राष्ट्रपति भवन शीतलनिवास पुगेका थिए । चालु आर्थिक वर्ष सकिन केही दिन मात्र बाँकी रहँदा सरकार बजेटको तयारीमा जुटेको छ । तर, आºनो पार्टीभित्र र बाहिरबाट तीव्र विरोध भएपछि पूर्ण बजेट ल्याउने अडानबाट पछि हटेका प्रधानमन्त्री भट्टराई एक तृतीयांशभन्दा बढीको बजेट ल्याउने तयारीमाा छन् ।
आºनो दलभित्रबाटै तीव्र आलोचना भएपछि आंशिक बजेट ल्याउन सहमत भएको भट्टराई सरकारले घोषित निर्वाचन र माओवादी लडाकु समायोजनका लागि आवश्यक रकमसमेत विनियोजन गरी पेस्की बजेटका रूपमा ल्याउने तयारीमा जुटेको छ । सोही विषयमा राष्ट्रपतिको समर्थन लिन प्रधानमन्त्री भट्टराई विभागीय मन्त्री र सचिवसहित शीतलनिवास पुगेको स्रोतको दाबी छ ।
तर, राष्ट्रपति यादवले संविधान र कानुनबाहिर गएर ल्याउने कुनै पनि बजेट आफूलाई स्वीकार्य नहुने उल्लेख गर्दै सबै राजनीतिक दलको समर्थन, कानुन र संविधानभित्र रहेर बजेट ल्याउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीका सहयोगी विश्वदीप पाण्डेले सहमतिमा कसरी बजेट ल्याउने र कस्तो बजेट ल्याउने भन्ने विषयमा राष्ट्रपतिसँग प्रधानमन्त्रीले छलफल गरेको जानकारी दिए । ‘सहमतिमा कसरी बजेट ल्याउने भन्ने विषयमा राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल भएको हो,’ उनले भने, ‘तर यस्तो नै बजेट ल्याउने भन्ने विषय टुंगो लागिसकेको छैन ।’
बुधबार मात्र विपक्षी राजनीतिक दलका शीर्ष नेताहरूले एक तृतीयांश बजेट मात्र स्वीकार गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार आह्वान गरेको सर्वदलीय बैठकले एक तृतीयांश बजेट ल्याउने सहमति गरेको थियो । २४ असारमा राष्ट्रपतिसँग भएको भेटमा प्रधानमन्त्री भट्टराई आंशिक बजेट ल्याउन सहमत भएका थिए ।

प्रतिक्रिया