प्रहरीद्वारा स्थानीयमाथि कुटपिट

सिन्धुपाल्चोक, २९ असार । बाग्मती अञ्चल प्रहरी कार्यालय धुलिखेलका प्रहरीले गाती–९ सख्वाका स्थानीयमाथि ज्यादती गरेको छ । प्रहरी ज्यादतीविरुद्ध उत्रिएका स्थानीयमाथि प्रहरीले एक राउन्ड हवाई फायरसमेत गरेको छ ।

बुधबार राति ज्यान मार्ने उद्योगका आरोपी छिरिङ तामाङलाई पक्राउ गर्न गएको प्रहरी टोलीले स्थानीयमाथि दुव्र्यवहारका साथै यातना दिएको हो । २४ चैतमा मध्यभोटेकोसी आयोजनाले गाउँमा राखेको सार्वजनिक सुनुवाइ कार्यक्रममा छिरिङ र स्थानीय डन पदम श्रेष्ठबीच विवाद बढेर झगडा भएको थियो । झगडामा घाइते श्रेष्ठले प्रहरीमा ज्यान मार्ने उद्योगमुद्दा दर्ता गरेका थिए ।
राति ९ बजेतिर सख्वा पुगेको प्रहरीले स्थानीयका घरमा पसेर दुव्र्यवहार र यातना दिएको निमादार्जे तामाङले बताए । ‘घरघरमा पसेर यातना दिन थालेपछि हामीले सहन सकेनौँ,’ उनले भने, ‘प्रहरीको दुव्र्यवहार सहन नसकेपछि प्रतिकारमा उत्रिन बाध्य भयौँ ।’
‘छिरिङलाई लुकाएका छौ, देखाउँछौ कि मारिदिउँm भन्दै प्रहरीले स्थानीयलाई धम्क्याए,’ तामाङले भने, ‘चारजनाको समूहमा रहेको प्रहरी टोलीसँगै छिरिङलाई ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गर्ने पदम श्रेष्ठ पनि आएका थिए ।’
छिरिङको घरमा प्रवेश गरेर प्रहरीले छिरिङका बुबा सुप्पा र आमा ल्हामुडोल्मालाई पनि निर्घात कुटपिट गरेका थिए । ‘खाना खाएर सुत्ने तरखरमा थियौँ,’ तामाङले भने, ‘एक्कासि पुलिस र गुन्डा आएर ‘छिरिङलाई कहाँ पठाइस्’ भन्दै कुट्न थाले ।’ कुटपिटपछि स्थानीय जम्मा भएर प्रहरी ज्यादतीको प्रतिकार गरेका थिए । स्थानीयले ढुंगामुढा गरेपछि टोली भागेको थियो । प्रहरी र स्थानीयबीच झडप भइरहँदा बा ५ च ३४६३ नम्बरको रातो टाटासुमोमा इलाका प्रहरी कार्यालयबाट तीन प्रहरी घटनास्थल पुगेको स्थानीय राजकुमार सुवेदीले जानकारी दिए ।
घटनास्थल र इप्रका बाह्रबिसेबीचको दूरी दुई किलोमिटर मात्रै रहेको छ । प्रहरी ज्यादतीविरुद्ध स्थानीयले बुधबार राति नै इप्रका बाह्रबिसे घेराउ गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिने बहानामा प्रहरीले लाठीचार्ज गरेको थियो । लाठीचार्जबाट तीन सर्वसाधारण घाइते भएका थिए । घाइतेको बाह्रबिसे स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
अञ्चल प्रहरी कार्यालयले सुराकीका आधारमा अभियुक्त तामाङ घरमा आएको सूचना पाएर पक्राउ गर्न गएको बताएको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेका इन्स्पेक्टर बालाजी रायमाझीले गुन्डासँग प्रहरीको संलग्नता नरहेको बताए । सख्वावासीले प्रहरी ज्यादतीको विरोध गर्न ‘प्रहरी ज्यादतीपीडित संघर्ष समिति’ समेत गठन गरेका छन् । समितिले बिहीबार दिनभर अरनिको राजमार्गको सख्वामा कन्टेनर तेस्र्यायर सडक अवरुद्ध पारेको थिए । उनीहरूले प्रहरीले माफी माग्नुपर्ने, श्रेष्ठलाई कारबाही गरिनुपर्ने, घाइतेले उपचार, क्षतिपूर्ति पाउनुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया