भट्टराई असक्षम प्रधानमन्त्री बन्ने बाटोमा

काठमाडौं, २८ असार । कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले साउन–७ गते पछि राष्ट्रपति डा.रामवरण यादवले सहमतिको सरकार गठनका लागि आह्वान गर्ने दावी गरेका छन् ।
राजधानीमा आज आयोजित साक्षत्कारमा उनले राष्ट्रपति साउन–७ गते सम्म पर्ख र हेरका अवस्थामा रहेको बताए । ‘निर्वाचन आयोगले दिएको समयसीमा साउन–७ गते सकिन्छ,’ उनले भने, ‘त्यसपछि राष्ट्रपतिले सहमतिको सरकार आह्वान गर्छन् ।’
समग्र विषयमा भट्टराई सरकारले सहमति जुटाउन नसके नयाँ सरकार गठनका लागि राष्ट्रपतिको आह्वान हुने उनले बताए ।
राष्ट्रपतिले सहमतीय सरकार बनाउन आह्वान गरेमा कांग्रेसले प्रधानमन्त्रीको उमेदवार घोषणा गर्ने नेता महतको भनाई छ ।
पूर्व अर्थमन्त्री समेत रहेका नेता महतले कामचलाउ सरकारले अन्तरिम संविधानको धारा ९६ को ‘क’ बमोजिम अघिल्लो बजेटको खर्चको एक त्रितियांश हुने गरी मात्र बजेट ल्याउन सक्ने बताए ।
उनले भने, ‘दलहरुका वीच सहमति बन्न नसकेको अवस्थामा कामचलाउ सरकारले निर्वाचन र लडाकुका लागि अलग्गै खर्च छुट्टाउन सक्दैन ।’
एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञावलीले प्रधानमन्त्री बाबुराम भट्टराई असक्षम भएर राष्ट्रपतिले हटाउने दिनपनि आउन सक्ने बताएका छन् ।
‘संविधानसभा विघठन गरेर घोषणा गरिएको निर्वाचन गर्न नसने भट्टराई असक्षम हुने छन्,’ उनले भने, ‘अक्षम प्रधानमन्त्रीको विल्ला भिरेर बाहिरिनु भन्दा आफैले मार्ग प्रसस्त गर्दा उचित हुन्छ ।’

प्रतिक्रिया