“अभिलाषा” देखि “विधाता”सम्म

काठमाडौं, २८ असार । केही दिनअघि विधाता एल्बम लिएर देखापरे गीतकार रमेश कोइराला । त्यसो त यसअघि पनि उनले रचना गरेका दुईवटा एल्बम नेपाली संगीत भण्डारले पाइसकेको छ । पेसाले कानुन व्यवसायी भए पनि गीतकारका रूपमा समेत कोइरालाले उत्तिकै न्याय गर्न सकेका छन् । यो न्याय गर्ने काम उनले विक्रम संवत् २०४५ सालदेखि नै थालेका हुन् । ‘मेरो पहिलो रचना बटुलेर सास पनि बाँचिदिउँला, छोपेर आँखा पनि हाँसिदिउँला ०४९ मै रेकर्ड भएको हो,’ कोइरालाले बोकेको विधाता देखाउँदै भने, ‘२०६२ मा ‘अभिलाषा’ ०५६ मा अभिलेखपछि ‘यो’ ल्याएको छु ।’

२०२३ साल असार २३ गते भोजपुरमा जन्मिएका उनी चार वर्षको हुँदा नहुँदै झापा बसाइ सरे । विराटनगरको गौरीगन्ज माविबाट प्रवेशिका गरेका उनले नेपाल ल क्याम्पसबाट ०४५ मा बिएल गरेका हुन् । त्यही सालदेखि वकालतमा लागेका कोइरालाले सँगसँगै गीत रचनालाई पनि आफ्नो सहयात्रा बनाए । वैदेशिक कारोबार एक परिचय पुस्तकसमेत लेखेर लेखकीय चिनारीसमेत दिएका उनले चाल्स शोभराजको मुद्दासमेत लडेका छन् । ‘पीडितको पक्षमा कोजिमो बु्रनाइको बुबा जोनबी क्लाबोडको पक्षमा लडेको छु,’ उनको अर्को लाडाइँ हो ‘कालजयी सुमधुर गीतको प्रभावकारिता कायम रहिरहोस् ।’
आठवटा गीत समेटिएको पछिल्लो एल्बममा आधुनिकता र मौलिकताको संगम भएको दाबी उनको छ । जसमा दीप श्रेष्ठ, आनन्द कार्की, लास्मित राई, प्राश्ना शाक्य, नारायण लामा, तारा लक्सम, जुना प्रसाईं र मीना निरौलाले स्वर दिएका छन् । १० वर्ष यो क्षेत्रबाट विश्राम लिएका गीतकार कोइराला २०६२ मा अभिलाषा र ०६५ मा अभिलेख लिएर देखापरेका थिए । अहिले विधाताले नयाँ र पुराना गीतकारलाई समेटेर स्वरबद्ध गरेकाले यसले नयाँ तथा पुराना पुस्तामाथि न्याय गर्नेमा उनी ढुक्क छन् । सुशील विश्वकर्मा, कुमार कान्छा, ओमविक्रम विष्ट पछि वरिष्ठ संगीतकार रत्नबहादुर खड्गीसँग काम गर्न पुगेका कोइराला पछिल्लो एल्बमले उचाइ लिनेमा विश्वस्त छन् ।
सानैदेखि संगीतप्रति रुचि भएका कोइरालाको त्यो रुचिलाई व्यवहारमा ल्याउन भने भूपेन्द्र रायमाझी, दीप श्रेष्ठ, दीप तुलाधरहरूले साथ र सहयोग दिएको उनी बिर्संदैनन् । नेपाली सांगीतिक गोरेटोमा लामो हिँडिसकेका कोइरालाको तिम्रो सिउँदो कसले भर्‍यो, बाचा किन टुटे साथी, बटुलेर सास पनि बाँचिदिउँला, छोपेर आँखा पनि हाँसिदिउँला, म तिम्रो बगैंचाको फूल होइन, जंगली फूल हुँ, डाँडामा फुल्छु खोँचमा झर्छु, म त्यही धुल हुँलगायत गीत असाध्यै रुचाइएकामध्ये पर्छन् ।

प्रतिक्रिया