भिआइपी उडान भर्न जहाज खरिदको तयारी


काठमाडौं, २८ असार । नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाज खरिद गर्ने भएको छ । उडान परीक्षण तथा उच्चपदस्थ अधिकारी (भिआइपी) को उडानका लागि प्राधिकरणले जहाज खरिद गर्न लागेको हो ।
प्राधिकरण तालुकदार मन्त्रालय पर्यटन तथा नागरिक उड्डयनका सहसचिव रञ्जनकृष्ण अर्यालका अनुसार प्राधिकरणले सो जहाज व्यावसायिक प्रयोजनमा समेत लगाउन सक्नेछ । त्यस्तै मन्त्रालय र प्राधिकरणसम्बन्धी आपतकालीन कार्यमा समेत जहाजको प्रयोग गरिनेछ ।
प्राधिकरणका लागि जहाज खरिद गर्न मन्त्रालयले अर्यालकै संयोजकत्वमा एक समिति गठन गरेको छ । समितिको प्रतिवेदनका आधारमा मन्त्रालयले जहाज खरिदको प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको छ । अर्थको सहमतिपछि जहाज खरिद प्रक्रिया अगाडि बढाइने मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालय जहाज खरिदका विषयमा सकारात्मक देखिएको पर्यटन सचिव गणेशराज जोशीले बताए ।
यसअघि कस्तो जहाज खरिद गर्ने भन्नेबारे अध्ययन गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक रतीशचन्द्रलाल सुमनको संयोजकत्वमा अर्को समिति गठन गरिएको थियो । समितिले खरिद गर्नुपर्ने जहाजको प्रकृतिबारे प्रतिवेदन दिएपछि मन्त्रालयले अर्थमा प्रस्ताव पठाएको सहसचिव अर्यालले बताए । प्राधिकरण र मन्त्रालयबीचको सहमतिमा जहाज खरिदको प्रस्ताव अगाडि बढाइएको उनले जानकारी दिए । प्राधिकरण नियामक निकाय भएकाले पनि उसँग जहाज हुनुपर्ने अर्यालको भनाइ छ ।
प्राधिकरणले आफ्नै स्रोतबाट जहाज खरिद गर्न लागेको हो । प्राधिकरणसँग भएको ट्विनअटर जहाज ०५५ सालमा जोमसोमबाट पोखरा आउने क्रममा दुर्घटना भएको थियो । सो जहाजको बिमा रकमबाट जहाज किन्न लागिएको प्राधिकरणले जनाएको छ । बिमाबापतको ३१ करोड रुपियाँ सरकारी बैंक खातामा रहेको बताइएको छ । तत्कालीन हवाई विभाग प्राधिकरणमा परिणत हुँदा सो रकम हस्तान्तरण नभएका कारण अर्थ मन्त्रालयको सहमति आवश्यक परेको हो ।
प्राधिकरणले शरद्सिंह भण्डारी पर्यटन मन्त्री हँुदा तीन वर्षअघि नै जहाज खरिदको निर्णय गरेको थियो । तर कार्यक्षेत्र र कानुनी दायराभन्दा बाहिर गएर व्यापारिक प्रयोजनका लागि जहाज खरिद गर्न लागिएको भन्दै विवाद उत्पन्न भएपछि प्रक्रिया रोकिएको थियो । प्राधिकरणले जहाज खरिद प्रक्रिया अघिबढाउन त्यतिखेर नै अर्थ मन्त्रालयसित सहमति मागेको थियो ।
नेपाली सेनाले कल्याण कोषको रकमबाट व्यापारिक प्रयोजनका लागि जहाज खरिद गर्न खोज्दा कार्यक्षेत्र र कानुनी दायित्वको कुरा उठाउँदै अनुमति नदिएका कारण अर्थले प्राधिकरणलाई पनि अनुमति दिएको थिएन ।
वायुसेवा कम्पनीका जहाजको अनुगमन गर्ने र खरिदको इजाजत दिने कानुनी दायित्व भएको प्राधिकरण आफैंले व्यापारिक प्रयोजनका लागि जहाज खरिद गर्नु व्यावहारिक नहुने राय कतिपयको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नयाँ मन्त्री आउनासाथ कमिसनको लोभमा जहाज किन्ने कुरा उठ्ने गरेको समेत बताइन्छ । एकीकृत नेकपा माओवादी नेता हिसिला यमी पर्यटनमन्त्री हुँदा पनि प्राधिकरणका लागि जहाज किन्ने कुरा उठेको थियो ।

प्रतिक्रिया