कात्तिकदेखि काबेली प्रसारण लाइन निर्माण

काठमाडौं, २८ असार । मेची अञ्चलका विभिन्न खोलामा निर्माणाधीन जलविद्युत्् आयोजनालाई केन्द्रीय ग्रिडसँग जोड्ने काबेली कोरिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण कार्य आगामी कात्तिकदेखि सुरु हुने भएको छ ।
वातावरण अध्ययन, वन स्वीकृतिमा भएको ढिलाइका कारण ढिला भएको निर्माण कात्तिकदेखि सुरु गरिन लागिएको हो । आयोजनाअन्तर्गत दमक सबस्टेसन निर्माण, दमक–काबेली १३२ केभी प्रसारण लाइन निर्माण, इलाम, फिदिम र काबेली सवस्टेसन निर्माण तथा ग्रामीण विद्युत्ीकरण कार्य गरिने कार्यक्रम छ । आयोजनाका अनुसार, दमक सवस्टेसनको कार्य ७० प्रतिशत पूरा भई आगामी कात्तिक महिनाभित्र सिध्याउने लक्ष्य राखिएको छ भने ३० मे ०१२ मा एबिबी लिमिटेडसँग ठेक्का सम्झौता भएको इलाम, फिदिम र काबेली सवस्टेसनको अध्ययन जारी छ ।
प्रसारण मार्ग क्षेत्रमा पर्ने एक हजार नौ सय घरधुरी लाभान्वित हुने गरी गर्न लागिएको ग्रामीण विद्युत्ीकरणमा परामर्शदाता छनोट भइरहेको काबेली आयोजनाले जनाएको छ । यो आयोजना सरकारद्वारा घोषित विद्युत् संकट निरूपण कार्ययोजना प्राथमिकतामा परेको छ । ९० किलोमिटर लामो दमक–काबेली प्रसारण लाइन मार्गमा पर्ने रूखहरूको गणना सुरु भएको छ । रूख गणनाअन्तर्गत झापा र इलाममा गणना भइरहेको छ भने इलाम, तेह्रथुम, पाँचथरलगायतका जिल्लामा सुरु नै भएको छैन । असोजभित्र रूख गणना गरिसक्ने तथा ती रूख काट्नका लागि अनुमति लिइसक्ने कार्यक्रम आयोजनाको छ । आयोजना अघि बढाउन अहिले डिजाइनसमेत जारी छ । ‘आगामी कात्तिकदेखि प्रसारण लाइनको निर्माण कार्य सुरु हुन्छ, अहिले डिजाइनको कार्य भइरहेको छ,’ आयोजना प्रमुख श्याम श्रेष्ठले थपे, ‘विभिन्न समस्याका कारणले केही ढिलाइ भए पनि अब द्रुतगतिमा काम अघि बढ्छ, स्थानीय रूपमा समेत अहिले ठूला समस्या छैनन् ।’ उनका अनुसार, कात्तिकभित्र निर्माण सुरु गरेर साढे दुई वर्षभित्र प्रसारण लाइन पूरा गरिसक्ने लक्ष्य छ । झापा र इलाम जिल्लाभित्र पर्ने प्रसारण लाइनखण्डको डिजाइन कार्य अन्तिम चरणमा पुगेको छ । यी क्षेत्रमा जग्गा अधिग्रहण गर्ने कार्य पनि भइरहेको छ ।
विश्व बैंकको सहयोगमा नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाएको सो आयोजनाको लागत दुई अर्ब ५८ करोड ४० लाख रुपियाँ रहेको छ । प्रसारण लाइन निर्माण पूरा भएपछि मेचीका काबेली, हेवा तथा माई खोलाबाट उत्पादन हुने एक सय पचास मेगावाटभन्दा बढीका आयोजनाको विद्युत् केन्द्रीय प्रसारण लाइनसँगै सिधै जोड्न सहयोग पुग्नेछ । अहिले ३७ मेगावाटको काबेली ‘ए’, २५ मेगावाटको काबेली ‘बी’, १५ मेगावाटको माईखोला, २१ मेगावाटको हेवाखोलाका दुई जलविद्युत्् आयोजनाहरू निर्माणाधीन अवस्थामा छन् ।
०६३ सालदेखि सुरु भएको आयोजना अघि बढाउने क्रममा वातावरण अध्ययन तथा स्थानीयवासीको अवरोधको कारणले ढिलाइ भएको थियो । ०७१ सालभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखे पनि एक वर्ष ढिला हुने भएको छ । आयोजनाका अनुसार प्रसारण मार्ग झापा, इलाम, तेह्रथुम र पाँचथर जिल्लाका २५ गाविस भएर काबेली पुग्नेछ ।

प्रतिक्रिया