कालिकोटमा खाद्यान्न मौज्दात

कालिकोट, २८ असार । कर्णालीका खाद्य डिपो रित्तिएर खाद्य अभाव भए पनि कालिकोटमा चामल मौज्दात रहेको बताइएको छ ।

ढुवानीको समस्या नभएको जिल्लाका रूपमा चिनिने कालिकोटमा यस वर्ष चामलमा संकट नभएको हो । जिल्ला खाद्य संस्थान कालिकोटका प्रमुख रणबहादुर ऐरीका अनुसार खाद्य डिपोमा ६ सय क्विन्टल चामल मौज्दात छ ।
जिल्लाका ३० वटा गाविसमा सदरमुकामबाट चामल उपलब्ध हुँदै आएको छ । जिल्लाका तीन स्थानमा रहेका खाद्य डिपो द्वन्द्वकालदेखि सञ्चालनमा नआएपछि जिल्लाको सदरमुकामबाट मात्र बिक्रीवितरण हुने गरेको हो । जिल्लामा चामलको मौज्दातका लागि एक मात्र केन्द्र भएकाले जिल्लाभरि बिक्रीवितरण हँुदै आएको हो ।
बाहिरबाट खाद्यान्न आपूर्ति हुँदा जिल्लामा उत्पादन भएका मकै, भटमास कोदो, फापरले बजार नपाएको स्थानीयवासी बताउँछन् । पछिल्लो समय कालिकोटमा यातायात सञ्चालनमा आएकाले जिल्लावासीले स्थानीय व्यापारीबाट खाद्यान्न लिने गरेपछि जिल्लामा खाद्यान्न समस्या हल भएको स्थानीय कर्णबहादुर भण्डारीले बताए ।
जिल्लाका लागि आएको कोटामध्ये हाल कालिकोटमा बिक्रीवितरण भएर बाँकी ६ सय क्विन्टल चामल मौज्दात रहेको र बाँकी चामल समयमा नै ढुवानी गरिने संस्थान प्रमुख ऐरीले बताए । सरकारी अनुदान रकम समयमा नआउँदा ढुवानी नभए पनि जिल्लामा खाद्यान्न संकट निम्तिन नदिनेमा आफू सचेत रहेको ऐरीको भनाइ छ । यस वर्ष ढिलो वर्षा भएकाले खाद्यान्न संकट हुनसक्ने भन्दै जिल्लावासीले चिन्ता गरेका छन् ।

प्रतिक्रिया