पेट्रोलको मूल्य नघट्ने

काठमाडौं, २७ असार । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटले नेपाल आयल निगमलाई पेट्रोलमा प्रतिलिटर १५ रुपियाँभन्दा बढी नाफा भए पनि मूल्य भने नघट्ने भएको छ । निगम अहिले नाफामा भएकाले पेट्रोलको मूल्य घटाउन दबाब भए पनि तत्काल मूल्य घटाउन नसक्ने निगमले जनाएको हो ।
विदेशी बजारमा भएको मूल्य गिरावटले निगम अहिले मासिक १३ करोड ११ लाख नाफामा छ । तर, आगामी १६ जुलाईमा आउने नयाँ मूल्य सूचीमा कच्चा तेलको मूल्य वृद्धि हुने संकेत देखिएकाले निगमले पेट्रोलको मूल्य नघटाउने जनाएको हो । निगमका प्रवक्ता मुकुन्द ढुंगेलले करिब चार वर्षपछि पहिलोपटक नेपाल आयल निगम नाफामा आएको भए पनि तत्काल मूल्य घटाउने अवस्था नरहेको स्पष्ट पारे । ‘आगामी १६ जुलाईमा आउने मूल्य सूचीमा कच्चा तेलको मूल्य बढ्ने देखिएको छ,’ उनले भने, ‘यसले अहिले नै पेट्रोलको मूल्य घटाउने पक्षमा निगम छैन ।’
भारतीय आयल निगमले पठाएको जुलाई १ को नयाँ मूल्य सूचीअनुसार चार वर्षपछि निगमलाई १३ करोड ११ लाख मासिक नाफा भएको हो । तर, अब केही दिनमै मूल्य वृद्धि हुने भएकाले नाफासमेत घट्ने ढुंगेलले जनाए । उनले केही समयअघि भएको डिजेल र मट्टीतेलको वृद्धिले पनि निगमको घाटा हटेको भन्दै तत्काल नाफा मूल्य घटाए विगतकै अवस्थामा आउनसक्ने जनाए । त्यसो त निगम आर्थिक वर्ष ०६५/०६६ पछि पहिलोपटक नाफामा आएकाले यो अवस्था कायम राख्न प्रयास भइरहेको उनको भनाइ छ ।
यसअघि निगम प्रतिमहिना घाटाको व्यापार गरिरहेकाले अब आपूर्ति सहज गर्न पनि मूल्य घटाउन नमिल्ने उनको तर्क छ । यो चार वर्षे अवधिमा निगमको मासिक घाटा दुई अर्ब रुपियाँसम्म पुगेको भन्दै उनले फेरि त्यस्तो अवस्था निगमले थेग्न नसक्ने जनाए । साथै, एलपी ग्यासमा अझै तीन सय ६० रुपियाँ प्रतिसिलिन्डर घाटा रहेकाले मूल्य घट्न नसक्ने उनको तर्क छ । ‘एलपी ग्यासमा तत्काल मूल्य वृद्धि गर्ने अवस्था छैन,’ उनले भने, ‘ग्यासमा ठूलो घाटा रहेकाले अन्य पेट्रोलियम पदार्थको मूल्य समायोजन हुँदैन ।’
निगमका अनुसार अहिले पेट्रोलमा प्रतिलिटर १५ रुपियाँ ३५ पैसा, मट्टीतेलमा १२ रुपियाँ ८० पैसा, आन्तरिक हवाई इन्धनमा १८ रुपियाँ ६६ पैसा र हवाई कर छुटसहित अन्तर्राष्ट्रिय हवाई इन्धनमा ३० रुपियाँ पाँच पैसा नाफा छ । विदेशी बजारमा भएको मूल्य गिरावटका कारण भएको यो नाफाले नै मासिक नाफा १३ करोड पुगेको निगम प्रवक्ता ढुंगेलले बताए ।
योसँगै जुलाई १ को नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा २६ करोड १० लाख कुल नाफा छ भने मट्टीतेलमा सात करोड ६८ लाख, आन्तरिक हवाई इन्धनमा पाँँच करोड ६० लाख र अन्तर्राष्ट्रिय हवाई इन्धनमा २१ करोड चार लाख कुल नाफा रहेको निगमले जनाएको छ । तर, नयाँ मूल्यअनुसार एलपी ग्यास र डिजेलमा भने अझै निगमलाई घाटा रहेको जनाइएको छ । जुलाई १ को मूल्यअनुसार डिजेलमा प्रतिलिटर ६४ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर तीन सय ५९ रुपियाँ ६३ पैसा घाटा रहेको निगमको दाबी छ । यो मूल्यअनुसार एलपी ग्यासमा कुल घाटा ४३ करोड १६ लाख र डिजेलमा चार करोड १६ लाख कुल घाटा छ ।
अन्तर्राष्ट्रिय बजार मूल्य गिरावट र आपूर्ति कटौतीले गत महिना भने निगम ७० करोड ४२ लाख घाटामा थियो । नेपाल आयल निगमका अनुसार आइओसीले १ जुनमा पठाएको मूल्य सूचीअनुसार निगमको मासिक घाटा ७० करोड ४२ लाखमा झरेको थियो भने भारतीय आयल निगमले १६ जुनमा पठाएको मूल्य सुचीअनुसार मासिक घाटा १३ करोड नौ लाखमा सीमित रहेको थियो ।
अघिल्लो महिना अर्थात् १ मेको मूल्य सूचीअनुसार निगमको घाटा एक अर्ब १४ करोड ४७ लाख रुपियाँ थियो । यस्तै, अघिल्लो महिना अर्थात् अप्रिलमा निगमको मासिक घाटा १ अर्ब ५६ करोड रुपियाँ पुगेको थियो ।

प्रतिक्रिया