महँगोमा बायोमासको पिपिए

काठमाडौं, २७ असार । नेपाल विद्युत् प्राधिकरणले बालाजी बायोमास विकेट इनर्जीको महँगो दरमा विद्युत्् खरिद सम्झौता (पिपिए) गरेको छ ।

महगोमा पिपिए गरेका कारण प्राधिकरण घाटामा गएको भन्दै चर्को विरोध भइरहेका अवस्थामा प्रधानमन्त्री कार्यालयको दबाबमा महँगोमै पनि पिपिए गरिएको प्राधिकरण स्रोतले बतायो ।
प्राधिकरणको ६१आँै बैठकले बालाजी कम्पनीसँग प्रतियुनिट ८ रुपियाँमा पिपिए गर्ने निर्णय गरेको हो । प्राधिकरण विद्युत् व्यापार विभागले भने पिपिएको मस्यौदा अन्तिम चरणमा पुगेको र छिट्टै गरिने बताएको छ ।
बालाजी बायोमासले उपत्यकाको फोहोर फाल्ने सिसडोलबाट ३.५ मेगावाट विद्युत् उत्पादन गर्नका लागि पिपिए गर्न निवेदन दिएको थियो । निवेदनअनुसार पिपिए गर्न सञ्चालक सदस्य टेकनाथ आचार्यको संयोजकत्वमा समिति गठन गरिएको थियो ।
अन्य विद्युत् आयोजनामा ३ प्रतिशत मुल्यवृद्धि पाँचपटक मात्र हुने भए पनि बायोमासमा भने आठपटक वृद्धि गर्ने गरी पिपिए गर्ने निर्णय भएको छ । ‘हामीले ऊर्जा सचिवज्यूलाई पनि यति महँगोमा पिपिए गर्न हुन्न भनेका थियाँै, प्राधिकरणको ८ रुपियाँमा पिपिए गर्ने हैसियत छैन, यो एकदम महँगो भयो,’ प्राधिकरणका एक कर्मचारीले थपे, ‘प्रधानमन्त्री कार्यालयका सहयोगी भन्दै एकजना कँडेल थरका व्यक्तिले प्रधानमन्त्री कार्यालयको निर्देशन भन्दै दबाब दिएका थिए, सञ्चालक समितिले पनि दबाबकै भरमा निर्णय गरिदियो ।’ उनका अनुसार अधिकांश कर्मचारीको नगर्न दबाब हुँदाहुँदै पनि गरिएकाले पिपिए गर्नमा पनि ढिलाई भएको छ ।
प्राधिकरण स्रोतले भोटेकोसी र खिम्तीको पिपिएले थलिएको प्राधिकरणले ८ रुपियाँमा पिपिए गर्नसक्ने अवस्था छैन । ‘अरू बायोग्याँसलाई प्राधिकरणले ८ रुपियाँमा पिपिए गर्न सक्छ,’ प्राधिकरणका ती कर्मचारीले भन्छन्, ‘अरूको दबाब र प्रभावले प्राधिकरण घाटामा जान्छ, ५ रुपियाँमा पिपिए गर्नु उपयुक्त थियो, पहिला एकपटक ३ रुपियाँमा गर्ने कुरा गरिएको थियो तर एकैपटक ८ रुपियाँ दिइएको छ, यो गलत हो ।’
प्राधिकरण प्रवक्ता एवं विद्युत् व्यापार विभागका निर्देशक शेरसिंह भाट अरू विद्युत्को पिपिए हिउँदमा ८ दशमलव ४० पैसासम्म गरिएकाले बायोमासको महँगो नभएको बताउँछन् । ‘फोहोरबाट बिजुली निकाल्न लागिएको यो नेपालको पहिलो हो, उनीहरूले १२ रुपियाँ मागेका थिए तर हामीले ८ रुपियाँमा गरेका हौँ,’ उनले भने । पिपिए गर्ने अन्तिम चरणमा पुगेको र पिपिए गरेपछि एक वर्षभित्र फोहोरबाट बिजुली निकाल्ने लक्ष्य कम्पनीको रहेको उनले बताए ।
पिपिए गर्नका लागि प्रधानमन्त्री कार्यालयबाट दबाब आएपछि प्राधिकरणका केही कर्मचारीले महँगोमा खर्च गर्न नसक्ने अवस्था रहेको र तीन हजार मेगावाटभन्दा बढी पिपिए पाइप लाइनमा रहेकाले बायोमाससँग पिपिए नगर्न दबाब परेको छ तर सञ्चालक समितिले निर्णय गरेपछि यसबारे विवाद बढेको छ । भारतमा बायोमासमा सरकारले त्यहाँको विद्युत् दरभन्दा माथिको पिपिए गर्नुपरेमा सरकारले उक्त रकम बेहोर्ने भएकाले नेपालमा पनि महँगोमा विद्युत् किन्न आवश्यक भएमा त्यस्तो व्यवस्था गर्नुपर्ने माग पनि प्राधिकरणभित्र उठेको छ ।

प्रतिक्रिया